भाद्र २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पासवर्ड’ को दुई पोस्टर सार्वजनिक भएको छ । चलचित्रकोे एक गीतमा ठुम्का लगाएका कारण निर्माण टिमले बलिउड अभिनेत्री सन्नी लिओनीलाई पनि पोस्टरमा विशेष स्थान दिएको छ । उनलाई कामुक रुपमा देख्न सकिन्छ । एक पोस्टरमा अभिनेता द्वय अनुपविक्रम शाही र विक्रम जोशीलाई रिसाहा अवतारमा देखिएका छन् ।
रविन्द्र झा, बुद्धि तामाङ, प्रविण खतिवडा, लिशा सुनार, विक्रान्त बस्नेतलगायतका कलाकारहरुलाई पनि पोस्टरमा स्थान दिइएको छ । सन्नीले ठुम्का लगाएको यो चलचित्रको ‘मेरो नाम सन्नी’ बोलको गीत यसअघि नै इन्टरनेट रिलिज भइसकेको छ । यो गीतले युट्युबमा राम्रो भ्यूज बटुल्न सफल भएको छ । चलचित्रमा उनको संवादसहित केही सिन पनि रहेको निर्माण टिमले बताएको छ ।

धिरेन शाक्य, परी राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि ‘पासवर्ड’ मा अभिनय रहेको छ । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा अजित के थापा सह.निर्माताको रुपमा रहेका छन् । सम्राट बस्नेत चलचित्रका निर्देशक हुन् । भने, सौरभ लामा छायाँकार हुन् ।
निकै महँगो लागतमा निर्माण भएको ‘पासवर्ड’ को ‘मेरो नाम सन्नी’ गीतमा ठुम्का लगाउन मात्र अभिनेत्री सन्नीले नेपाली झण्डै ३ करोड बुझेको जानकारी प्राप्त छ । उनी चलचित्रको प्रिमियरमा सहभागी हुन नेपाल आउने निर्माण टिमले बताएको छ । आफूले ठुम्का लगाएको गीत ट्विटरमा साझेदार गर्दै सन्नीले नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेकी थिइन् ।




