यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ चलचित्र ‘न यता न उता’ । समिरमणी दीक्षि, मिराज रोश,ऋचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको यसमा अभिनय रहेको छ । चलचित्रमा अरोन अशोक कुमारको छायांकन छ ।
मिडलाइफ क्राइसिसको विषयमा निर्माण भएको चलचित्रमा दर्शकलाई जबरजस्ती हँसाउनका लागि दोहोरो अर्थ लाग्ने संवादलाई प्रशय नदिएको कलाकार समिरमणी दीक्षितको भनाई छ । उनी भन्छन्, ‘ट्रेलरले नै चलचित्र कमेडी प्रधान हो भन्ने स्पष्ट पार्छ । तर, चलचित्रमा कमेडीको नाममा हाँ-हाँ र हु-हु छैन । चलचित्रमा सिच्वेसनल कमेडी छ । दर्शकलाई सिच्वेसनलले हँसाउँछ ।’ चलचित्र इन्टरटेनिङ रहेको उनी दाबी गर्छन् ।

मिराज रोश निर्देशित यो चलचित्रको विभिन्न कारणले पटक-पटक प्रदर्शन मिति सरेको थियो । चलचित्र निर्धारित मितिमा प्रदर्शन हुन नसक्नुको कारण निर्देशक रोश आफैंलाई दोष दिन्छन् । बेलायतमा चलचित्र मेकिङको अध्ययन गरेका उनले भने, ‘म नेपालमै बसिरहने भएको भए चलचित्र समयमै प्रदर्शन हुन्थ्यो होला । म काम विशेषले समय-समयमा बेलायत जानु पर्ने भएकाले चलचित्र रिलिजमा ढिलाई भयो ।’
नेपालअघिचलचित्रको बेलायमा प्रदर्शन भइसकेको र दर्शकबाट मिलेको प्रतिक्रियाले आफूहरु उत्साहित भएको उनी बताउँछन् । दर्शकको प्रतिक्रियापछि चलचित्रमा केही परिवर्तन पनि गरेको उनले बताए । चलचित्रमा उनको पनि प्रमुख भूमिका छ । दर्शकको स्वाद बुझेर आफूले चलचित्र बनाएको उनको भनाई छ । चलचित्रले केही हदसम्म स्टेरियोटाइप ब्रेक गर्न सफल हुनेमा उनी विश्वस्त छन् ।
४५ वर्ष कटेका दुई अर्धबैशे पुरुषको आन्तरिक द्वन्द्वलाई चलचित्रमा उतारिएको कलाकार दीक्षित बताउँछन् । उनका अनुसार, चलचित्र दुई ‘लुजर’ को कथा होे । ‘चलचित्रमा जुन पात्र छन्, नेपाल आउँदा उनीहरुसँग केही पनि हुँदैन । धेरै पैसा पनि हुँदैन । जागिर पनि हुँदैन । विदेशमा बसेपछि मानिसको ठूलो प्रगति हुन्छ भनिन्छ । तर, विदेशमा बसेर केही पनि गर्न नसकेका दुई ‘लुजर’ को कथामा चलचित्र आधारित छ’, उनले भने ।




