असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाको प्रमुख भूमिका रहेको चलचित्र ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ बोलको गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत छ । बाबु प्रधानको एरेञ्ज रहेको गीतमा गायक सुगम पोखरेल र स्वेच्छा ठकुरीको संयुक्त गायन छ ।

सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेता सुशील र अभिनेत्री रुविना फिचर्ड छन् । गीतको भावअनुरुप भिडियो निर्माण भएको छैन । विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी कमजोर छ । तर, सञ्जय लामाको छायांकन र लोकेशनले आँखालाई शितलता प्रदान गर्छ । गीतको भिडियो मेकिङ गजबको छ । संगीतकार पोखरेलले गीतको भिडियो राम्रो बनेकोमा खुसी व्यक्त गरे ।

सौरभ चौधरीले यो चलचित्रको निर्देशन गरेका हुन् । उनले चलचित्रलाई राम्रो बनाउन आफूले कुनै कसर बाँकी नराखेको बताएका छन् । चलचित्रको नामको अर्थ बुझाउँदै उनी भन्छन्, ‘प्रेममा रहँदा विताएको एउटा अविस्मरणीय पललाई शब्दमा उतारिएको डायरीलाई लभ डायरीज भनिन्छ । चलचित्रमा पनि सुशील र रुविनाको अविस्मरणीय प्रेमलाई देखाइएको छ ।’ उनले चलचित्रबाट आफू निकै आशावादी रहेको बताए ।

यो चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । नायक सुशील श्रेष्ठले चलचित्रमा आफूले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेको बताए । उनले यो चलचित्रका लागि दाह्री र कपाल निकै लामो बनाएका छन् । उनी आफ्ना अघिल्ला दुई चलचित्रले राम्रो नतिजा हात नपारे पनि यो चलचित्रमाथि ठूलो अपेक्षा रहेको बताउँछन् ।
गीत हेर्नुहोस् :-




