भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ अब दुई हप्तापछि प्रदर्शनमा आउने भएको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्र साउथ स्टार प्रभासको चलचित्र ‘साहो’ कारण दुई हप्ता पछाडि सरेर असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको हो । यो मितिमा यसअघि नै नेपाली चलचित्र ‘लभ डायरीज’ छ ।
‘कबड्डी कबड्डी कबड्डी’ को रिलिज डेट पोस्टपोन्ड भएसँगै भाद्र १३ गते नवल नेपाल निर्देशित तथा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का स्टारर चलचित्र ‘मारुनी’ ले एकल प्रदर्शनको अवसर पाएको छ । ‘साहो’ र ‘कबड्डी कबड्डी कबड्डी’ को चेपुवामा पर्ने डरले ‘मारुनी’ को प्रदर्शन मिति पोस्टपोन्ड हुने चर्चा फिल्मवृतमा थियो । तर, साउथ फिल्मको डरले सुपरहिट चलचित्रको सिरिज नै छेउ लागेको छ ।

स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित भएर बनेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनेता दयाहाङ राई प्रमुख भूमिकामा छन् । उनको अपोजिटमा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । यो चलचित्रको टीजर र पहिलो गीत ‘दुबो फूल्यो’ सार्वजनिक भइसकेको छ । दुबैलाई इन्टरनेटमा दर्शकले रुचाएका छन् ।
बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । चलचित्रमा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । यसको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् ।




