शिव शंकरको संगीतमा राजु सिंहको नाम, बदमासी कसको ?



नाम चलेका संगीतकारमाथि संगीत चोरीको आरोप श्रृंखलाबद्ध रुपमा लागिरहेको अवस्थामा फेरि अर्को गीतको विवाद सुरु भएको छ । एउटा पुरानो आइटम गीतमा संगीत नै नभरेका संगीतकारको नाम राखेर युट्युबमा सार्वजनिक भएपछि यसले विवादको रुप लिएको हो । सन् १९७४ मा प्रदर्शनमा आएको शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित तथा प्रकाश थापा निर्देशित चलचित्र ‘मनको बाँध’ मा समावेश ‘यो मात चढेको साँझ’ गीतमा शिव शंकरको संगीत र बरिष्ठ गीतकार किरण खरेलको शब्द छ ।

यो गीतको रिमेक अधिकार लिएर आउँदो भाद्र ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेत्री नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ मा समावेश गरिएको छ, जुन गीत केही दिन अगाडि युट्युबमा सार्वजनिक भइसकेको छ । तर, २०६४ सालमा चलचित्र विकास बोर्डमा दर्ता भएको पवन केसी निर्देशित चलचित्र ‘मुर्ख मान्छे’ मा पनि ‘यो मात चढेको साँझ’ गीतलाई रि-एरेञ्ज गरेर राखिएको छ । तर, संगीतकारमा संगीत नै नभरेको व्यक्तिको नाम राखिएको छ ।

२०१९ जुलाई ६ मा म्यूजिक नेपाल मुभिजको युट्युब च्यानलमा ‘मुर्ख मान्छे’ मा समावेश गरिएको यो गीतको रिमेक भर्सन अपलोड गरेको छ । गीतमा संगीतकारको नाम राजु सिंह उल्लेख छ । तर, यो गीतका वास्तविक संगीतकारको नाम शिव शंकर हो । गीतमा मिरा राणाको स्वर दिएकी थिइन् । ‘जाइरा’ मा समावेश गरिएको ‘यो मात चढेको साँझ’ गीतमा भने संगीतकारमा शिव शंकरकै नाम उल्लेख छ । गीतलाई रि-एरेञ्ज फिरोज बज्राचार्य र डिजे राजुले गरेका हुन् ।

‘जाइरा’ का निर्माता प्रशन्न गोपालीले आफूले गीतकार, संगीतकार र एनएफडिसीसँँग गीतको रिमेक अधिकारका लागि कागजी सम्झौता नै गरेको बताए । ‘हामीले रिमेक अधिकार लिएर नै गीतलाई रि-एरेञ्ज गरेका हौं । संगीतकार शिव शंकरसँँग पनि हामीले कागजी सम्झौता गरेका छौं । यसअघि चलचित्र ‘मुर्ख मान्छे’ लाई पनि यो गीतको रिमेक अधिकार दिइएको हामीलाई थाहा थिएन’, उनले भने । म्यूजिक नेपालमा सार्वजनिक भएको ‘यो मात चढेको साँझ’ को भिडियो अधिकार ओएसआरसँग छ ।

‘मुर्ख मान्छे’ का निर्देशक पनल केसीले भने गीतका वास्तविक संगीतकारको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनी भन्छन्, ‘फिल्ममा आइटम गीतको आवश्यकता भएका कारण निर्माता बाबु बलामीले यो गीत लिएर आउनु भएको थियो । उहाँले कहाँ र कसरी लिएर आउनुभयो मलाई थाहा भएन । गीतमा कसले संगीत भरेको थियो त्यो पनि मलाई थाहा छैन । निर्माताले गीत ल्याएपछि हामीले खिच्यौं ।’ यस विषयमा बुझ्न खोज्दा निर्माता बाबु बलामीसँग भने फोन सम्पर्क हुन सकेन ।

संगीतकार राजु सिंहले स्वयंले ‘मुर्ख मान्छे’ मा समावेश ‘यो मात चढेको साँझ’ गीतमा आफूले संगीत नभरेको जानकारी दिएको ‘जाइरा’ निर्माता गोपालीले बताए । उनी भन्छन्, ‘मैले कोरियोग्राफर गोविन्द राईमार्फत् संगीतकार राजु सिंहसँग बुझ्दा उहाँले ‘मुर्ख मान्छे’ को एक लोक लयको गीतमा संगीत भरेता पनि उक्त गीतमा संगीत नभरेको बताउनुभयो । तर, युट्युबमा सार्वजनिक भएको गीतमा उहाँकै नाम छ । यसले म आफैंलाई पनि अचम्मित बनाएको छ ।’

निर्माता गोपालीले आफूले गीतकार र संगीतकारसँँग गीतको रिमेक अधिकारका लागि गरेको कागजी सम्झौता सार्वजनिक गर्न सक्ने पनि बताए । उनका अनुसार, गत वर्ष चलचित्रको छायांकन भइरहेको अवस्थामा यो गीतको रिमेक अधिकार खरिद गरिएको थियो । तर, एउटै गीतलाई दुईपटक रिमेक गर्न दिइनु, ‘मुर्ख मान्छे’ र ‘जाइरा’ मा समावेश ‘यो मात चढेको साँझ’ गीतको रिमेक भर्सनमा संगीतकारको नाम फरक-फरक हुनुले विभिन्न खाले शंका उब्जाएको छ । यसमा बदमासी कसको छ ? यसको चाँडै पर्दाफास हुने नै छ ।

‘जाइरा’ गीत हेर्नुहोस् :-

‘मुर्ख मान्छे’ को गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu