मनसुनका कारण अहिले धेरै चलचित्र फ्लोरमा छैनन् । तर, भदौबाट फ्लोरमा निस्कने चलचित्रको लिस्ट लामै छ । चलचित्र ‘आधा सुर’ को पनि मनसुनले विदा मागेपछि छायांकन सुरु हुने भएको छ । अशिन पौडेलको निर्देशनमा बन्न लागेको यो चलचित्रको मंगलबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो । भदौ दोस्रो साताबाट छायांकन सुरु हुने चलचित्र काठमाडौंमा र पोखरामा खिचिनेछ ।

चलचित्र क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रको कथा सौरभ कार्कीले तयार पारेका हुन् । उनलाई निर्देशक पौडेलले सघाएका छन् । विष्णु घिमिरे ‘कल्पित’ ले चलचित्र खिच्ने जिम्मेवारी पाएका छन् । रोशनराज थापाको संगीत रहने ‘आधा सुर’ लाई केशव रानाले सम्पादन गर्नेछन् ।
चलचित्रमा अर्पण थापा, प्रविण खतिवडा, शिशिर बाङ्देल, सरिता गिरी, दीलिप रानाभाट, बविता मल्ल, सुरज विष्ट, सुभांगम पराजुलीको अभिनय रहनेछ । यो चलचित्रबाट मोहन जैशीले डेब्यू गर्दैछन् । निर्देशक पौडेलका अनुसार, चलचित्रका लागि एक अभिनेत्रीको खोजी भइरहेको छ । उनले केही दिनमा लिड अभिनेत्रीको टुंगो लाग्ने बताए ।

निर्देशक पौडेलले पहिलो पटक फिचर चलचित्र निर्देशन गर्न लागेका हुन् । उनी ‘आधा सुर’ लाई स्तरिय बनाउने सवालमा कुनै कसर बाँकी नछाड्ने बताउँछन् । कलाकार मध्येका एक प्रविणले चलचित्रको कथावस्तुले आफूलाई आकर्षित गरेको बताए । त्यस्तै, अभिनेत्री सरिताले चलचित्रमा आफ्नो भूमिका दर्शकलाई मनपर्ने बताइन् ।




