शिवहरीको ‘लक्का जवान’ मा दीलिपदेखि प्रियंकासम्म



हास्य कलाकार शिवहरी पौडेलले निर्देशन गर्ने चलचित्र ‘लक्का जवान’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको घोषणा गरिएको हो । यो चलचित्रबाट शिवहरीले चलचित्र निर्देशनमा हात हाल्न लागेका हुन् । भदौपछि छायांकन सुरु हुने चलचित्रको प्रस्तुतकर्तामा ध्रुव पन्त छन् ।

किरण केसी, दीलिप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्मातामा रहेको चलचित्रमा अनसुया श्रेष्ठ वन्त निर्मात्रीमा छिन् । सह-निर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी रहेका छन् । चलचित्रको कथा निर्देशक पौडेल स्वयले तयार पारेका हुन् । उनले निर्देशकीय जिम्मेवारी कुशलतापूर्वक निर्वाहा गर्ने प्रतिवद्धता व्यक्त गरे ।


चलचित्रमा निर्देशक पौडेल स्वयंको प्रमुख भूमिका रहनेछ । उनीसँगै किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रमा सानो पर्दाका परिचित कलाकारहरुको ठूलो भीड छ । चलचित्रका गीतमा बाबुल गिरीले संगीत भर्नेछन् ।


कविराज गहतराजको कोरियोग्राफी रहने यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । भने, मित्र डि. गुरुङलाई सम्पादकको जिम्मेवारी सम्पिएको छ । ‘तँ त साह्रै बिग्रिस नी बद्री’, ‘शत्रु गते’ र ‘दाल भात तरकारी’ चलचित्रको निर्माण गरिसकेका निर्माता तथा कलाकार किरण केसीले शिवहरीको क्षमतालाई देखेर चलचित्र निर्देशन गर्ने जिम्मेवारी दिइएको बताए । शिवहरीले राम्रो चलचित्र बनाउने उनको विश्वास छ ।


निर्देशकको रुपमा आफूलाई स्थापित गर्न लागेको शिवहरीले ‘लक्का जवान’ का लागि बरिष्ठ हास्यकलाकार द्ववय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रमुख भूमिकामा अफर गरेको खुलाए । तर, मह सञ्चारभन्दा बाहिरी ब्यानरको चलचित्र नगर्ने निर्णयका कारण सम्भव नभएको उनको भनाई छ । चलचित्रको घोषणा सभामा मदनकृष्ण र हरिवंश दुबै उपस्थित थिए । ‘छक्का पञ्जा’ टोलीको पनि कार्यक्रममा उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu