मलाई ‘रोज’ ले चिनायो : मिरुना मगर



गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘लालपूर्जा’ बाट डेब्यू गरेकी अभिनेत्री हुन्, मिरुना मगर । सुन्दर अभिनेत्रीको रुपमा चिनिएकी उनले दोस्रो चलचित्रको रुपमा ‘रोज’ गरिन् । तर, दुबै चलचित्र बक्सअफिसमा असफल भए । ‘लालपूर्जा’ मा उनी सौगात मल्ल र रोजमा प्रदीप खड्काको अपोजिटमा थिइन् । दुई चलचित्रको असफलतापछि चलचित्र छनोटमा गम्भीर देखिएकी उनको नयाँ चलचित्र ‘साइनो’ यही साउन २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेका कारण यो चलचित्रमाथि फिल्मकर्मी र दर्शक सबैमा ठूलो आशा छ । अभिनेत्री मिरुना पनि चलचित्र दर्शकले रुचाउने र सफल हुनेमा विश्वस्त छिन् । राम्रो स्क्रिप्ट र राम्रो टीमका कारण चलचित्रमा काम गरेको बताउँदै उनी भन्छिन्, ‘नेपालको प्रथम अभिनेत्रीको फिल्ममा आफू हुन पाउनु एकदमै लक्की फिल गरेकी छु । स्क्रिप्टमा जुन क्यारेक्टर थियो त्यसले लोभ्याएर पनि मैले यो चलचित्र गरेकी हुँँ ।’

यो चलचित्रले आफ्नो करिअर अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । यसअघि आफूले दुई चलचित्रमा निर्वाहा गरेको भूमिकाभन्दा दर्शकले यसमा धेरै फरक पाउने उनको दाबी छ । मिरुना अगाडि भन्छिन्, ‘अघिल्ला दुई चलचित्रमा मैले शहरकी युवतीको भूमिका निभाएकी थिएँ । यसमा ग्रामिण परिवेशमा हुर्किएको युवतीको भूमिकामा छु ।’ गाउँले भूमिका गर्न पाउँदा आफूलाई खुसी महशुस भएको उनी बताउँछिन् ।

एक भेटमा उनले आफूलाई दर्शकमाझ चिनाएको चलचित्रको नाम पनि खुलाइन् । ‘लालपूर्जा’ र ‘रोज’ मा तपाईंलाई दर्शकमाझ कुनले चिनायो जस्तो लाग्छ ? भन्ने प्रश्नमा उनले सोच्न समय लगाइनन् । आफूलाई दर्शकमाझ ‘रोज’ ले चिनाएको उनले बताइन् । प्रदीप खड्का भएका कारणले हो ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘हुनसक्छ । उहाँको पनि ठूलो योगदान छ । उहाँले गरेको चलचित्रमा जुन प्रकारको प्रचार हुन्छ त्यसले पनि हो जस्तो लाग्छ ।’


प्रदीपलाई ‘सुपरस्टार’ भन्दै भविष्यमा पनि सँगै काम गर्ने इच्छा रहेको मिरुनाले बताइन् । तर, उनले प्रदीपसँग अफेयरको चर्चाको भने खण्डन गरिन् । उनी भन्छिन्, ‘हामी साथी मात्र हौं । बजारमा के हल्ला चल्यो मलाई थाहा भएन ।’ ‘रोज’ असफल भए पनि आफ्नो काम रुचाइएका कारण अहिले धेरै राम्रा चलचित्रबाट अफर आइरहेको उनी बताउँछिन् । तर, स्क्रिप्ट र टीम राम्रो भए मात्र चलचित्र गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu