राजु अधिकारीको निर्देशनमा बनेको चलचित्र ‘मेरो आफ्नो’ को ३५ दिनमा सम्पूर्ण छायांकन सकिएको छ । बिहीबार पोखरामा एक गीत खिच्दै फिल्मको इन्डक्ल्याप गरिएको हो । निर्देशक अधिकारीले चलचित्र उत्कृष्ट बनेको दाबी गरेका छन् ।
यो चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ । ओम साइभक्त मिडिया प्रा.लि.का लागि श्रीराम बराल प्रस्तुत ‘मेरो आफ्नो’ मा केवलजंग कुँवर, सुजता थापा, रिया श्रेष्ठ, सुन्दर श्रेष्ठ, रुपा राना, नरेश पौडेल, शंकर आचार्यको प्रमुख भूमिका रहेको छ । चलचित्रका लेखक मौनता श्रेष्ठ हुन् ।

केही दिनमा चलचित्रको प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ । रामकृष्ण बजिमया कार्यकारी निर्माता रहेको चलचित्रमा पवन गौतमको छायांकन, हिमाल केसीको द्धन्द, तारा प्रकाश लिम्बु र बिकास चौधरीको संगीत रहेको छ । केवलजंग कुँवर र सुजता थापाको प्रेममा आउने उचार-चढावमा चलचित्र केन्द्रित रहेको बताइएको छ ।
रामजी लामिछानेको साथमा कमल राई र किरणले चलचित्रको गीतमा कोरियोग्राफी गरेका छन् । धिरज कुमार श्रेष्ठ, निलु केसी र बसन्त शर्माको संयुक्त लगानी रहेको यस चलचित्रलाई मन्दिल श्रेष्ठले सम्पादन गर्नेछन् । नव-अभिनेता केवलजंग कुँवरले चलचित्रमा आफ्नो भूमिका न्यायपूर्वक निभाउने प्रयन्त गरेको बताए ।




