‘सेल्फी किङ’ गर्दै विपिन



अभिनेता विपिन कार्कीले ‘सेल्फी किङ’ नामक चलचित्रमा काम गर्ने भएका छन् । यसलाई गत वर्षको हिट चलचित्र ‘प्रसाद’ टिमले निर्माण गर्न लागेको हो । निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गर्ने चलचित्रको निर्देशन बिशाल सापकोटाले गर्नेछन् । उनी चलचित्र ‘कारखाना’ का निर्देशक अमरदीप सापकोटाका सहोदर भाई हुन् ।

अमेरिकामा चलचित्र मेकिङको पढाइ सकेर नेपाल फर्किएका उनले पहिलो पटक फिचर चलचित्र निर्देशनमा हात हाल्न लागेका हुन् । यसअघि उनी तेलूगु चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको क्याप्टेनसिप सम्हाल्ने तयारीमा थिए । तर, विविध कारणले यो निर्माण हुन सकेन । अब उनले ‘सेल्फी किङ’ मा विपिनलाई एक्सन-कट गर्नेछन् ।


भदौ १० गतेबाट फिल्मको औपचारिक रुपमा छायांकन सुरु हुने निर्माता मध्येका एक दिनेश राउतले बताए । चलचित्रका लागि अहिलेसम्म प्रमुख भूमिकामा अभिनेत्रीको भने टुंगो लागेको छैन । अभिनेत्री द्वय स्वस्तिमा खड्का र लक्ष्मी वर्देवासँग केही दिनदेखि कुरा भइरहेको छ । यसअघि दुईले चलचित्र ‘बुलबुल’ मा सँगै काम गरेका थिए ।

चलचित्रको मुलकथा विपिनको वरिपरि घुम्ने बताइएको छ । यस वर्षको जेठमा प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ पछि उनले कुनै नयाँ फिल्म साइन गरेका थिएनन् । यद्यपि, उनको पाइपलाइनमा ‘परी’ र ‘फनफनी’ छन् । अब यी दुई चलचित्र उनले ‘सेल्फी किङ’ भ्याएपछि गर्नेछन् । निर्माण टिमले चलचित्रको विषयवस्तु गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu