लामो समयदेखि ‘नाईं नभन्नु ल’ को सिरिज निर्माण र निर्देशन गर्दै आएका निर्देशक विकासराज आचार्य निर्देशित नयाँ चलचित्र ‘हजार जुनीसम्म’ यही साउन ३० गते प्रदर्शनमा आउँदैछ । चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, सलोन बस्नेत, अनुभव रेग्मी, सञ्चिता लुईंटेललगायतका कलाकारहरुको प्रमुख भूमिका छ । यो चलचित्रले खडेरी लागेको फिल्मको व्यापार चलायमान बनाउने फिल्मकर्मीहरुको विश्वास छ ।
विकासराजले प्रायः आफ्नै ब्यानरबाट चलचित्र निर्माण गर्ने गरेका छन् । ‘हजार जुनीसम्म’ मा भने उनी निर्माताको रुपमा छैनन् । उनी आफूलाई बाहिरी ब्यानरको चलचित्र गर्न मन भए पनि त्यसका लागि टिम मिल्नुपर्ने बताउँछन् । यसपटक सबै मिलेको उनले बताए । ‘हजार जुनीसम्म’ रमाइलो फ्यामिली ड्रामा रहेको उनको भनाई छ । उनी भन्छन्, ‘मैले यसअघि बनाएका चलचित्रभन्दा यसको प्रस्तुतीकरण र कथ्य शैली फरक छ ।’

ट्रेलर सार्वजनिक भएपछि धेरैले यो चलचित्रलाई ‘नाईं नभन्नु ल ६’ भनिरहेका छन् । तर, ‘नाईं नभन्नु ल’ सिरिजभन्दा ‘हजार जुनीसम्म’ केही फरक रहेको निर्देशक आचार्य बताउँछन् । उनी भन्छन्, ‘नाईं नभन्नु ल’ सिरिज रुचाउने दर्शकलाई यो त मनपर्छ नै साथै एउटा कलरफुल चलचित्र रुचाउने दर्शकले पनि यसमा इन्जोय गर्नुहुन्छ । मेरो प्याटन त छ नै तर यसपटक केही नयाँ पनि छ ।’
उनी फिल्मलाई मनछुने बनाएको दाबी गर्छन् । चलचित्रमा हाँसो, रोदन, माया, पारिवारिक दायित्व सबै रहेको उनको भनाई छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । चलचित्रमा कविराज गहतराजको नृत्य, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत छ । विशाल चाम्लिङ निर्माता रहेको चलचित्रकी कार्यकारी निर्मात्री कविता रेग्मी हुन् ।




