हास्यकलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को निर्माणमा चलचित्र ‘सेन्टी भाइरस’ बन्ने भएको छ । यो चलचित्रको बुधबार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको छ । भाद्र ३ गतेबाट छायांकन हुने चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । ‘सेन्टी भाइरस’ को कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

चलचित्रमा ‘धुर्मुस-सुन्तली’ स्वयंको प्रमुख भूमिका रहनेछ । सामाजिक व्यंग्यमा निर्माण हुने चलचित्रमा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । रुपाकोट र पोखरामा छायांकन हुने चलचित्रलाई निर्देशक गुरुङका विश्वासिला छायाँकार शैलेन्द्र डि. कार्कीले खिच्नेछन् ।

कलाकार धुर्मुसले सामाजिक कार्यमा व्यस्त रहँदा कलाकारितामा समय दिन नपाएको बताउँदै अब चलचित्र अभिनयबाट पुनः कलाकारितामा फर्किएको बताए । ‘सेन्टी भाइरस’ को निर्माण लागत अनुमानित २ करोड रहेको उनको भनाई छ । उनले चलचित्रको मुनाफाको १५ प्रतिशत रंगशाला निर्माण र ५ प्रतिशत चलचित्र कलाकार संघको भवन निर्माणका लागि हस्तान्तरण गरिने पनि जानकारी दिए ।

राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहने यो चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गर्नेछन् भने सह-निर्मातामा फूर्पा लामा रहेका छन् । निर्देशक रामबाबुले चलचित्रलाई उत्कृष्ट बनाउने प्रयत्न आफ्नो रहने बताए । त्यस्तै, कलाकार कुञ्जनाले बाल्यकालदेखि नै आफूलाई चलचित्रमा अभिनय गर्ने रहर भएको बताउँदै अब ‘सेन्टी भाइरस’ बाट पूरा हुन लागेकोमा खुसी व्यक्त गरिन् ।




