दशैंमा प्रदर्शनमा आउने अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टीका निधारमा’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘मेरो माया के हो ?’ बोलको गीतमा फिल्मका प्रमुख अभिनेता अंकित शर्मा र अभिनेत्री साम्राज्ञी आरएल शाह फिचर्ड छन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतले दुईको प्रेम भाव बोल्छ ।


निशान भट्टराई र अस्मिता अधिकारीको संयुक्त गायन रहेको गीतमा कल्याण सिंहको संगीत छ । पुरुषोत्तम प्रधानले खिचेको गीतको शब्द रवि मल्लले सिर्जेका हुन् । चलचित्रमा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले चलचित्रको निर्माण गरेका हुन् ।


चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । निर्देशक शर्माले चलचित्रलाई उत्कृष्ट बनाउन आफूले कुनै प्रयास बाँकी नराखेको बताए । यो चलचित्रमा प्रमुख भूमिकामा अभिनय गरेका अंकित उनकै छोरा हुन् । अंकितले चलचित्रमा आफूले पाएको भूमिकालाई न्याय गर्ने प्रयत्न गरेको बताए । अभिनेत्री साम्राज्ञीले फिल्ममा फरक भूमिका निभाउन पाएकोमा खुसी व्यक्त गरिन् ।


चलचित्रका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । चलचित्रका लागि सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवि. मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृति चलचित्रकी सहायक निर्देशक हुन् । मित्र देव गुरुङको काँधमा सम्पादनको जिम्मेवारी छ । कार्यक्रममा कलाकार राजारामले अंकितको प्रशंसा गर्दै भविष्य सुन्दर रहेको बताए ।
गीत हेर्नुहोस् :-




