प्रदर्शन मिति नजिकिँदै गर्दा भाद्र २७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘लभ यु हमेशा’ ले प्रचारलाई तिव्र बनाउन थालेको छ । यसबीच, चलचित्र यूनिटले ‘भिडियो कन्टेस्ट’ घोषणा गरिएको छ । विवाहित वा अविवाहित दुबै जोडीले भाग लिन सक्ने प्रतियोगितामा प्रेम प्रस्ताव राखेको भिडियो बनाएर लभ यु हमेशा लेखेर फिल्म ‘लभ यु हमेशा’ को फेसबुक पेजमा पठाउनु पर्ने निर्देशक भास्कर प्रधानले जानकारी दिए ।
लाइक र कमेन्टको आधारमा प्राप्त भिडियोहरु मध्ये उत्कृष्ट घोषणा गरि पुरस्कृत गरिने निर्माण टिमले बताएको छ । ‘लभ यु हमेशा’ को निर्माण ब्यानर धर्मा क्रियशनले विजेतालाई चलचित्रका कलाकारसँग भेटघाट, रेड कार्पेट प्रिमीयरमा सहभागी हुने अवसर तथा तीन दिन र चार रातको दार्जिलिङ भ्रमण प्याकेजसहित विभिन्न उपहार प्रदान गरिने जनाएको छ ।

भिडियो प्रतियोगीताको बिजेता घोषणा भदौ २१ मा गरिनेछ । त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्रको हाल फिलिपिन्सको बिभिन्न स्थानमा दुईटा गीत छायांकन भइरहेको छ । रामजी लामीछानेको कोरियोग्राफी र शिब ढकालको छायांकन रहेको ती गीतमा चलचित्रका मुख्य कलाकार यशराज गरच, ऋचा थापा र फिजा योन्जन फिचर छन् ।
यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सह-निर्माता रहेको चलचित्रमा यशराज, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ,निराजन मेहता, पिटी योल्मा, प्रमिला राईलगायतको पनि अभिनय छ । भारतको कालेबुङ, सिलगुडी, काठमाडौपछि हाल फिलिपिन्समा छायांकनरत चलचित्रमा भासुको संगीत र एनवी महर्जनको द्वन्द्व निर्देशन छ ।




