दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रातो टीका निधारमा’ बाट निर्देशक अशोक शर्माले आफ्नो छोरा अंकितलाई अभिनयमा डेब्यू गराएका छन् । अब उनी छोरीलाई पनि हिरोइन बनाउने तयारीमा छन् । उनकी छोरी कृतिले अमेरिकामा बसेर चलचित्र मेकिङ सम्बन्धि अध्ययन गरेकी छन् । दशैंमा प्रदर्शनमा आउन लागेको आफैं निर्मात्री रहेको चलचित्र ‘रातो टीका निधारमा’ मा उनले पितालाई निर्देशनमा पनि सघाएकी छन् ।

निर्देशक शर्माले बुधबार ‘रातो टीका निधारमा’ को पहिलो गीत सार्वजनिक कार्यक्रममा छोरीलाई अभिनयमा इच्छा रहेको आफूले महशुस गरेको बताए । तर, सुरुमा छोरीलाई चलचित्रमा ल्याउन आफूले निकै फकाएको उनी बताउँछन् । उनी भन्छन्, ‘मैले उनलाई चलचित्रमा आउनका लागि धेरै फकाएँ । बल्ल मानेकी छन् ।’
घर फर्किन ढिला भएका कारण अंकितको अगाडि डेब्यू भएको बताउँदै उनले चाँडै छोरी पनि अभिनयमा आउने बताए । कृतिले पनि आफूलाई अभिनयमा इच्छा रहेको बताइन् । उनले भनिन्, ‘म यो इन्डस्ट्रीमा विल्कुलै नयाँ छु । त्यसकारण मलाई पहिला सिक्नु छ । यो इन्डस्ट्री कस्तो छ भनेर हेर्नु छ । त्यसपछि अभिनयमा आउन सक्छु ।’ सम्भवतः उनले अर्को वर्ष आफ्नै घरको चलचित्रबाट डेब्यू गर्न सक्नेछिन् ।




