अशोक शर्माको निर्देशनमा बनेको चलचित्र ‘रातो टीका निधारमा’ असोज १० गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार साँझ फेसबुकमा एक स्टाटस लेख्दै उनले चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन् । अहिलेसम्म यो डेटमा अरु चलचित्रले प्रदर्शन मिति तोकेका छैनन् । यो चलचित्र घटस्थापनाको दुई दिन अगाडि प्रदर्शनमा आउन लागेको हो ।

चलचित्रमा साम्राज्ञी आरएल शाह, अंकित शर्मा, नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले चलचित्रको निर्माण गरेका हुन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ ।
चलचित्रका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । चलचित्रका लागि सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवि. मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृति फिल्मकी सहायक निर्देशक हुन् । मित्र देव गुरुङको काँधमा सम्पादनको जिम्मेवारी छ । बुधबार चलचित्रको ‘मेरो माया के हो ?’ गीत सार्वजनिक गरिएको थियो ।




