छायांकनमा नजाँदै चर्चामा रहेको चलचित्र हो, ‘प्रेमगीत ३’ । दशैंपछि छायांकन आरम्भ हुने यो चलचित्र आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा अभिनेता प्रदीप खड्काले तेस्रो पटक ‘प्रेम’ र क्रिस्टिना गुरुङले ‘गीत’ को भूमिका निभाउँदैछन् । मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, प्रेम पुरी, सन्तोष सेनले पनि चलचित्रमा अभिनय गर्दैछन् ।
चाँडै वर्कशप सुरु हुने यो चलचित्रमा थप केही कलाकारको पनि प्रवेश भएको छ । लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री र शिशिर राणा चलचित्रमा कलाकारको रुपमा भित्रिएको निर्माता सन्तोष सेनले जानकारी दिए । अब चलचित्रका लागि कलाकार छनोट प्रक्रिया सकिएको उनको भनाई छ । निर्माण टिम चाँडै अभिनेता प्रदीपको क्यारेक्टर पोस्टर सार्वजनिक गर्ने तयारीमा छ ।

नाम नै ब्रान्ड बनिसकेको ‘प्रेमगीत’ को तेस्रो सिरिजलाई उत्कृष्ट बनाउन कुनै कञ्जुस्याँई नगर्ने निर्माता सेन बताउँछन् । उनी चलचित्रमा भिलेनको भूमिकामा देखिँदैछन् । चलचित्रको अधिकांश सिन भब्य सेट खडा गरेर खिचिँदैछ । केही दिनदेखि चलचित्रका प्रमुख कलाकारहरु घोडा सवारी सिकिरहेका छन् । २ वर्ष पुरानो प्रेमकथामा चलचित्र बन्न लागेको हो ।
छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गर्ने पिरियड ड्रामामा बाल कलाकार अनुभव रेग्मीले बाल्यकालको प्रदीप खड्का उर्फ ‘प्रेम’ को भूमिका निभाउँदैछन् । पुराना अभिनेता शिव श्रेष्ठको राजाको भूमिका छ । उनका दुई छोराको भूमिका प्रदीप र मनिषले निर्वाहा गर्दैछन् । ‘एक निषेधित प्रेमकथा’ भनिएको चलचित्रको निर्माण लागत ३ करोड अनुमान गरिएको छ ।




