जेठपछि कुनै चलचित्रले गतिलो व्यापार गर्न नसकेको अवस्थामा अहिले सबैको आशा साउन अन्तिम (साउन ३०) मा प्रदर्शनमा हुन लागेको चलचित्र ‘हजार जुनीसम्म’ माथि छ । जनै पूर्णिमाको विदामा प्रदर्शनमा आउन लागेको यो चलचित्रले खडेरी लागेको चलचित्रको व्यापारलाई केही हदसम्म भए पनि पूर्ती गर्ने अपेक्षा गरिएको छ । कर्मचारीलाई तलब दिन नसकेर छटपटिरहेका हल सञ्चालक समेत यही चलचित्रको आशमा छन् ।
जेठपछि राम्रो चलचित्र हेर्न नपाएका घरेलु दर्शकलाई ‘हजार जुनीसम्म’ ले हलसम्म डोर्याउन सफल हुने विश्वास गरिएकोे छ । अहिले दर्शक राम्रो चलचित्र हेर्न नपाएर भोकाएका छन् । यसको फाइदा यो फिल्मले उठाउन सकेको खण्डमा चलचित्र क्षेत्रका लागि पनि सुखद क्षण हुनेछ । चलचित्रकर्मीमा मरेको आशा फेरि ब्यूँतिने छ । जान्नुस्, यी हुनसक्छन् यो चलचित्र चल्नसक्ने पाँच आधार :-
१. स्टारकास्ट
दर्शकलाई हलसम्म डोर्याउन स्टारकास्टको भूमिका अत्यन्त महत्त्वपूर्ण रहन्छ । ‘हजार जुनीसम्म’ मा परिचित कलाकारहरुको ठूलो झुण्ड छ । एक समय नेपाली चलचित्रमा आफूलाई ‘नम्बर वान नायक’ को रुपमा उभ्याएका चकलेटी ब्वाई आर्यन सिग्देल चलचित्रको केन्द्रिय भूमिकामा छन् । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘कायरा’ पछि उनी पर्दामा देखिन लागेका हुन्, करीब एक वर्षपछि ।
उनीसँगै यस चलचित्रमा अहिलेकी सर्वाधिक डिमान्डेड अभिनेत्री स्वस्तिमा खड्काको पनि अभिनय छ । गत वर्ष समीक्षात्मक रुपमा निकै सफल ठहरिएको चलचित्र ‘बुलबुल’ पछि उनले दर्शक भेट्न लागेकी हुन् । सलोन बस्नेत, प्रियंका कार्की, सञ्चिता लुईंटेल, अनुभव रेग्मी, अखिलेष प्रधान, शिवहरी पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रको एक गीतमा दीपाश्री निरौलाले ठुम्का लगाएकी छन् ।

२. गीतसंगीत र ट्रेलर
पछिल्लो समय नेपाली चलचित्रको इनिसियल व्यापारमा गीतसंगीत र ट्रेलरको भूमिका निकै ठूलो रहने गरेको छ । ट्रेलरले उत्कसुता र गीतसंगीतले बजार गर्माएको खण्डमा चलचित्रलाई प्रदर्शनको दुई दिन हलमा दर्शकको खडेरी लाग्दैन । ‘छक्का पञ्जा’ र ‘नाईं नभन्नू ल’ यसका उदाहरण हुन् । ‘हजार जुनीसम्म’ को गीतसंगीत र ट्रेलरलाई निकै रुचाइएको छ । यूट्युबमा भ्यूअर्स पनि राम्रो पाएका छन् ।
सबैभन्दा अगाडि सार्वजनिक गरिएको चलचित्रको ‘एमजी रोडैमा’ बोलको गीतमाथि युट्युबमा ४० लाखभन्दा बढीको नजर परिसकेको छ । आर्यन सिग्देल र दीपाश्रीले ठुम्का लगाएको दोस्रो गीत ‘आज नगद भोली उधारो’ गीतको भ्यूअर्स ९ लाखभन्दा बढी छ । ट्रेलरलाई ११ लाखले हेरिसकेका छन् । गीतसंगीत र ट्रेलरले निकै राम्रो हाइप निर्माण गरेका कारण चलचित्रको इनिसियल बक्सअफिस आक्रामक हुने विश्लेषण गरिएको छ ।
३. निर्देशक
नेपालमा केही सीमित निर्देशक छन्, जसलाई दर्शकले आँखा चिम्लिएर विश्वास गर्ने गर्दछन् । रामबाबु गुरुङ, निश्चल बस्नेत, प्रदीप भट्टराई, दिनेश राउत, सुदर्शन थापा यसका उदाहरण हुन् । उनीहरुले निर्देशन गर्ने फिल्मले निराश नबनाउने विश्वास दर्शकलाई छ । निर्देशक विकासराज आचार्य पनि यो भीडका एक दरिलो खम्बा हुन् । ‘नाईं नभन्नू ल’ सिरिजबाट उनले दर्शकको विश्वास जितेका छन् ।
उनै निर्देशित चलचित्र हो ‘हजार जुनीसम्म’ । उनले धेरैपछि नयाँ नाममा चलचित्र बनाएका हुन् । हरेक वर्ष वा दुई वर्षमा ‘नाईं नभन्नू ल’ को सिरिज निर्माण गर्दै आएका उनलाई नयाँ नाममा चलचित्र नै बनाउन नसक्ने आरोप लाग्ने गरेको थियो । यसपटक उनी यो आरोपबाट मुक्त हुँदैछ । उक्त चलचित्रमा उनको एक्सन-कट भएका कारण दर्शकको ठूलो वर्ग हलसम्म पुग्ने विश्लेषण कतिपयको छ ।
४. सोलो रिलिज
लोप भइसकेको डायनासोर भेटिएला तर अहिले नेपाली चलचित्रले सोलो रिलिज पाउन असम्भव छ । वर्षमा ठूला ब्यानरका एकाध चलचित्रले मात्र एकल प्रदर्शनको अवसर पाउँछन् । नभए, हरेक हप्ताको शुक्रबार दुईभन्दा बढी चलचित्रबीच भिडन्त हुने गरेको छ । चलचित्रले सोलो रिलिज पाउँदा हल र दर्शक बाँडिन्न, जसको प्रत्यक्ष असर फिल्मको व्यापारमा पर्छ । त्यसैले प्रायः मेकर्स चलचित्रको एकल प्रदर्शनको प्रार्थना गर्छन् ।
‘हजार जुनीसम्म’ लाई सोलो रिलिजको दुर्लभ संयोग मिलेको छ । यो चलचित्रसँग भिड्न कुनै नेपाली फिल्म छैनन् । बलिउडका दुई ठूला चलचित्र ‘मिशन मंगल’ र ‘बाटला हाउस’ सँग भने भिडन्त हुँदैछ । यसअघि यो मितिमा ‘साहो’ पनि आउने निश्चत भएको थियो । यसको डरले यो फिल्म एक हप्ता पछाडि पनि सर्यो । तर, ‘साहो’ नै दुई हप्ता पछाडि सरेपछि यो चलचित्र पुरानै मितिमा फर्कियो ।
मल्टीप्लेक्समा अक्षय कुमारको ‘मिशन मंगल’ र जोन अब्राहमको ‘बाटला हाउस’ को थ्रेट रहेता पनि सिंगल थिएटरमा ‘हजार जुनीसम्म’ ले एकलौटी राज गर्नेछ । बलिउड चलचित्र सिंगल थिएटरमा खासै प्रदर्शन हुँदैनन् । ‘वर्ड अफ माउथ’ बलियो भएको खण्डमा यसले मल्टीप्लेक्समा पनि आफ्नो उपस्थिति बलियो बनाउन सक्नेछ । यो चलचित्रले सोलो रिलिजको फाइदा कति उठाउला ? त्यसका लागि केही दिन पर्खिनै पर्ने हुन्छ ।
५. मनसुन निस्क्रिय
मनसुनका कारण यस वर्षको असार र साउनमा केही आश गरिएका चलचित्रले हलमा पानी समेत भन्न पाएनन् । झरीमा रुझ्दै दर्शक हलसम्म पुग्ने जाँगर नचलाउने हुँदा मनसुनको समयमा व्यापारिक दृष्टिकोणले चलचित्र रिलिज गर्नु उचित मानिँदैन । भदौको सुरुवातमा प्रदर्शन हुन लागेको ‘हजार जुनीसम्म’ लाई झरीले असर नगर्ने देखिन्छ । तर, मौसमको भर हुँदैन । यद्यपि, अहिले मनसुन निस्क्रियजस्तै छ ।




