अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा निर्वाहा गरेको चलचित्र ‘जाइरा’ यस वर्षको प्रतिक्षीत चलचित्र मध्येको एक हो । बदलाको कथामा निर्माण भएको यो चलचित्र आउँदो भाद्र ६ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रका लागि अभिनेत्री नम्रताले चरित्रमा फिट हुन कपाल समेत छोट्याएकी थिइन्, जसका कारण चलचित्र ‘प्रसाद’ मा उनले विग लगाउनु पर्यो ।
आशुतोष राज श्रेष्ठको डेब्यू निर्देशन रहेको चलचित्रको गएको बधबार एक्सन प्रधान ट्रेलर सार्वजनिक गरियो । योभन्दा अगाडि फिल्मको टीजरसहित एक रोमान्टिक र आइटम गीत सार्वजनिक भइसकेका थिए । तर, ती प्रचार सामाग्रीले चलचित्रको हाइप बनाउन सकेनन् । ट्रेलरले भने चलचित्रको सामान्य हाइपलाई चुल्याएको छ । दर्शकमा चलचित्रप्रति उत्सुकता र कौतुहलता बढाएको छ ।

यूट्युबमा ट्रेलरलाई निकै राम्रो प्रतिक्रिया मिलेको छ । इन्टरनेट रिलिजको तीन दिनमा करीब साढे ४ लाख भ्यूअर्स मिलेको ट्रेलरलाई १३ हजार लाइक्स प्राप्त छ । पब्लिक कमेन्टमा करीब ८ सयले प्रतिक्रिया जनाएका छन् । अधिकांशले ट्रेलर हेरेपछि चलचित्रमाथि अपेक्षा बढेको बताएका छन् । भने, नम्रता र अभिनेता अनुपविक्रम शाहीको जोडीलाई पनि रुचाइएको छ ।
निर्देशक श्रेष्ठले चलचित्रको हाइप निर्माणमा ट्रेलरले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनी भन्छन्, ‘ट्रेलरबाट मिलेको सकारात्मक प्रतिक्रियाले हामी निकै उत्साहित छौं । ट्रेलरले दर्शकमा चलचित्रप्रति अपेक्षा पनि बढाएको छ । दर्शकको अपेक्षा पूरा गर्न हामीले कुनै कसर छाडेका छैनौं ।’ नम्रता टाइटल क्यारेक्टरमा रहेको यस चलचित्रले महिला सशक्तिकरणमा प्रत्यक्ष टेवा पुर्याउने विश्वास निर्माण टिमको छ ।
‘जाइरा’ मा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । अभिनेत्री नम्रता पनि यो चलचित्रकी निर्मात्री हुन् । चलचित्रमा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।
ट्रेलर हेर्नुहोस् :-




