चलचित्र पत्रकार संघ, नेपालले आउँदो भाद्रमा तीन दिने वृहत चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्ने भएको छ । आइतबार केन्द्रिय कार्यालय अनामनगरमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले भाद्र १८, १९ र २० गते पोखरामा चलचित्र विकास बोर्डसँगको सहकार्यमा कार्यशाला गर्ने निर्णय गरेको हो ।

संघका महासचिव अनिल यादव द्वारा हस्ताक्षरित विज्ञप्तीमा चलचित्र सम्बन्धि विधासँग जोडिएर पत्रकारिता गरिरहेका पत्रकारहरुले कार्यशालामा सहभागी हुन पाउने बताइएको छ । १५ सय शुल्क निर्धारण गरिएको कार्यशालामा सहभागी हुन चाहनेले भाद्र १० गतेभित्र कार्यालयमा नाम दर्ता गरिसक्नु पर्ने विज्ञप्तीमा उल्लेख छ ।

यो कार्यशाला सक्रियतापूर्वक चलचित्र पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि उपलब्धिमुलक हुने संघले अपेक्षा राखेको छ । कार्यशालामा सम्बन्धि विधामा दक्ष पत्रकारहरुले पत्रकार आचारसंहिता तथा भिडियो कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता, पर्यटन र फिल्म पत्रकारिता, फोटो र मल्टीमिडियाको विषयमा प्रशिक्षण दिनेछन् ।




