अनमोल ‘एन्टी हिरो’ बन्ने



अभिनेता भुवन केसी र अभिनेता अनमोल केसीले पहिलो पटक एकसाथ काम गर्न लागेको चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ । सोमबार चलचित्र विकास बोर्डमा चलचित्र दर्ता गरिएको छ । तिहारपछि छायांकन सुरु हुने यो चलचित्र दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रको निर्माण भुवन केसीले गर्नेछन् ।

यस चलचित्रमा अभिनेता अनमोल सकारात्मक अर्थात् हिरोको भूमिकामा देखिनेछन् । भुवन भने नकारात्मक (भिलेन) भूमिकामा प्रस्तुत हुनेछन् । यसका लागि केही महिनादेखि भुवनले दाह्री बढाइरहेका छन् । एफडी कम्पनीले वितरण गर्ने चलचित्रका लागि अहिले निर्देशकको खोजी भइरहेको छ । निर्देशकमा प्रदीप भट्टराईको नाम चर्चामा छ ।


गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘क्याप्टेन’ को ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा भुवन र अनमोलले एकसाथ स्क्रिन साझेदारी गरेका थिए । तर, चलचित्रमा भुवनको अभिनय थिएन । अब पहिलो पटक छोरा र पिता ‘एन्टी हिरो’ मा हिरो र भिलेनको भूमिकामा प्रस्तुत हुँदैछन् । दुईलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ ।

एक्सन-लभस्टोरी बताइएको चलचित्रको अहिले स्क्रिप्टमा काम भइरहेको छ । केही दिनमा निर्देशक र अभिनेत्रीको छनोट गरिने भुवनले बताएका छन् । चलचित्रमा अनमोल एक्सन अवतारमा प्रस्तुत हुनेछन् । साथै, चकलेटी भूमिकामा पनि उनी देखिनेछन् । आउँदो नयाँ वर्षको छेकोमा चलचित्र प्रदर्शन हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu