लभर ब्वाईको छवि भत्काउन असफल भएँ : आर्यन



चकलेटी अभिनेता आर्यन सिग्देल अभिनीत नयाँ चलचित्र ‘हजार जुनीसम्म’ यही बिहीबारबााट देशव्यापी प्रदर्शनमा आउँदैछ । विकासराज आचार्य निर्देशित यो चलचित्रमाथि उनको अथाह भरोसा छ । यो चलचित्र आफ्नो जर्नीमा आधारित रहेको उनको भनाई छ । केही दिनदेखि यस चलचित्रको प्रचारमा दिलोज्यान दिएर दौडिरहेका उनीसँग गरिएको संक्षिप्त कुराकानी :

१. तपाईंको करिअरमा ‘हजार जुनीसम्म’ संख्या थपिने चलचित्र मात्र बन्ला वा करिअरका लागि फाइदा पनि गर्ला ?

चलचित्र गरिसकेपछि संख्या त थपिने भइहाल्यो । तर, ‘हजार जुनीसम्म’ को जुन क्यारेक्टर र स्क्रिप्टको सिनारियो छ त्यसमा एउटा फरक चिज चाहिँ थपिन्छ ।

२. तपाईंले चलचित्रमा दुई चरित्र बाँच्नुभएको छ, जवान र अर्धबैंशे । अब चकलेटीभन्दा फरक भूमिका पनि गर्न तयार हुनुभएको हो ?

म पहिलादेखि नै फरक भूमिका गर्न तयार चाहन्थेँ । तर, स्क्रिप्ट पाइनँ । डिफ्रेन्ट जोनमा बसेर काम गर्न जसलाई पनि मन लाग्छ । ‘हजार जुनीसम्म’ मा मेरो पाको उमेरको भूमिका चाहिँ हो । सिद्धान्त क्षेत्री एउटा स्टाइलिस पर्सन नै हो । जीवनमा पाएको पीडाले गर्दा उसलाई पाको बनाएको हो ।

३. विकासराज आचार्यको फिल्म नै रोज्नुको कारण ?

मैले ‘नाईं नभन्नू ल ३’ गर्दा विकास दाई निर्माताको रुपमा हुनुहुन्थ्यो । मुस्कान ढकालले चलचित्रको निर्देशन गरेको थियो । त्यो बेला पनि मलाई उहाँसँग काम गर्ने इच्छा थियो । रमाइलोसँग-सँँगै इमोसनल सबै पार्टलाई समेट्ने उहाँको जुन गर्ने शैली छ त्यसले गर्दा पनि म विकास दाईसँग काम गर्न लालायित भएको हुँ । जब मलाई उहाँले क्यारेक्टर सुनाउनु भयो त्यसपछि चलचित्र गर्न एक्साइडेट भएँ ।


४. ‘हजार जुनीसम्म’ गर्नुको कारण स्क्रिप्ट थियो वा ब्यानर ?

चलचित्रको मेरुदण्ड भनेको स्क्रिप्ट हो । स्क्रिप्ट मन परेपछि ब्यानरले अर्थ राख्छ । राम्रो स्क्रिप्ट भयो भने नयाँ मेकरसँग पनि काम गर्न सकिन्छ । त्यसैले पहिलो च्वाइस चाहिँ स्क्रिप्ट नै हो ।

५. तपाईंले आफ्नो लभर ब्वाईको छवि भत्काउने प्रयास पनि धेरै पटक गर्नुभएको हो । त्यसमा कति सफल भएँ जस्तो लाग्छ ?

म असफल मान्छु । मैले कसैलाई पहिलो चलचित्रमा एक्सन मन पराए भने त्यो मान्छेबाट म सधैं एक्सन नै खोजिरहेको हुन्छु । मैले सुरुवातदेखि नै माया आधारित भएको चलचित्र गरेँ । एक्सन भए पनि मायामा आधारित थियो । थ्रिल छ भने पनि मायामा बेस्ड थियो । पहिलादेखि नै त्यो चिज मन पराउनुभएको हो ।

बीचमा मैले केही फरक धारका चलचित्र गरेको पनि हुँ र समीक्षकले रुचाउनु पनि भएको हो । तर, बोरामा पैसा आएन भने त्यो सफल मानिँदैन । मिडियाले नै लेख्न थाल्छ आर्यनको अर्को असफल फिल्म भनेर । त्यसकारण मलाई जुनमा रुचाउनु भएको छ त्यसमै भेरिएसन दिने प्रयास गरेको छु । मैले लभस्टोरी चलचित्र गर्दा मसँगै दर्शक पनि खुसी हुनुहुन्छ ।

६. आत्मसमीक्षा गर्दा आफ्नो प्रयास किन असफल भयो जस्तो लाग्छ ?

कुनै प्रयास सुन्दा राम्रो तर निस्किँदा नराम्रो भएर असफल भए । कुनै सुन्दा पनि राम्रो, निकिँदा पनि राम्रो तर दर्शकलाई विषयवस्तु राम्रो नलागेर असफल भए । मैले गरेको चलचित्र ‘माला’ नराम्रो भन्ने कोही पनि थिएनन् । तर, फिल्मले सफलता प्राप्त गरेन । त्यो थ्रिल फिल्म थियो, जुन मेरो जनरा थिएन । सायद दर्शकलाई पनि तानेन । चलचित्र असफल हुनुको पछाडि धेरै कारणहरु हुन्छन् । कहिले काहिँ आफ्नो चलचित्र रिलिज भएको आफैंलाई समेत थाहा हुँदैन थियो ।

७. अब तपाईंको जर्नी भर्सटालिटी दिन पनि हुन्छ वा लभस्टोरीको जनरामा भेरिएसन दिने प्रयास रहन्छ ?

कमर्शियल रुपमा मलाई जुन रुपमा मन पराउनुभएको छ त्यही चिजलार्ई नै प्राथमिकता दिन्छु । तर, म कलाकार भएको नाताले फरक धारका चलचित्र पनि गर्नेछु । चाहे बक्सअफिसमा असफल नै किन नहोस् । कलाकार भएपछि भर्सटालिटी देखाउन पाएँ भने म खुसी हुन्छु । तर, कमर्शियल रुपमा लभस्टोरी जनरालाई बढी प्राथमिकता दिन्छु ।

८. तपाईंलाई स्टारडममाथि कति विश्वास छ ?

म त्यो चिजलाई मान्दै मान्दिनँ । म स्टारडमलाई मानेर त्यसलाई पछ्याउने मान्छे नै होइन । म एउटा कलाकार हुँ । चलचित्रमा काम गर्ने जोश छ मसँग । म अभिनय गर्छु । सेलिब्रेटी बनुँ, सधैं स्टार भइराखुँ, सधैं मिडियामा छाइराखुँ भन्ने सोच मलाई कहिल्यै आएन ।

९. स्टारडम निर्माण गर्ने प्रयास त गर्नु सकिन्छ होला नी ?

त्यो निर्माण त भयो होला । मेरो प्रोफेसन नै यही हो भनेपछि स्टारडम निर्माण त हुन्छ होला । तर, त्यो चिजले मलाई चाहिँ छुँदैन । र, म जीवनमा कहिल्यै पनि स्टारडम निर्माणकै लागि प्रयास भने गर्दिनँँ । तर, पहिला जस्तै राम्रो फिल्म गर्ने प्रयास भने गर्नेछु । अब अझ आक्रामक रुपमा जाने सोच छ ।

१०. तपाईंलाई कुनै समय ‘नम्बर वान अभिनेता’ भनिन्थ्यो । त्यो फर्काउने फेरि प्रयास हुन्छ ?

मलाई ‘नम्बर वान’ हुनु छैन । न त मलाई सबैभन्दा धेरै पारिश्रमिक लिनु छ । म के चाहन्छु भने फिल्म राम्रो गर्न पाउँ । मैले गरेको चलचित्रले निर्माता सुरक्षित हुन् । मेरो त्यही मात्र सोच हो । म न पहिला आफूलाई ‘नम्बर वान र सुपरस्टार’ ठान्थेँ न भोली हुनेछ । मेरो चलचित्र गर्ने शैली पहिला जस्तो थियो त्यो भोलीका दिनमा पनि निरन्तर रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu