अस्कर कलेजले ओपन हाउस इभेन्ट गर्दै



अस्कर कलेज अफ फिल्म स्टडिजले एक दिनका लागि सर्वसाधारणलाई पनि चलचित्र निर्माणका मुख्य विधामा जानकारी गराउने भएको छ । आउँदो शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा उक्त कलेजजमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकहरुलाई चलचित्र निर्माण सम्बिन्ध जानकारी गराउन लागिएको हो ।

कलेजले गत सालबाट ओपन हाउस इभेन्टको थालनी गरेको हो । यसमा एक दिनका लागि चलचित्रका विभिन्न विधाको बारेमा जानकारी गराइन्छ । कलेज तथा युनिभर्सिटीबारे आम मानिसलाई एक मुष्ट जानकारी दिन विदेशमा ओपन हाउस इभेन्ट गर्ने प्रचलन छ । यो अवसरमा सर्वसाधारणले पनि कलेज वा युनिभर्सिटीका बारेमा प्रत्यक्ष जानकारी लिने मौका पाउँछन् ।


त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन लिएर ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले शनिबार आगन्तुकलाई चलचित्र निर्माणको सुरुवातदेखि पछिल्लो समयको प्रविधि भिएफएक्सबारे जानकारी गराउनेछ । ओपन हाउस इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले सहभागिता जनाउन पाउनेछन् ।

कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले ओपन हाउसमा चलचित्र निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको बताए । ‘क्यामरा आविष्कारका लागि प्रेरित गर्ने क्यामरा अब्सक्युरादेखि लिएर पछिल्लो जमानाको लेटेस्ट प्रविधि भिएफएक्सका बारेमा पनि जानकारी रहनेछ । एउटा चलचित्र हलमा लाग्नुभन्दा अगाडि के के काम हुन्छ, यो दिन थाहा पाउन सकिन्छ’, पन्तले भने ।

इभेन्टमा क्यामराको विकास क्रमलाई पनि सहभागीले अवलोकन गर्ने अवसर पाउनेछन् । कलेजले नेपालमा लामो समय प्रचलनमा रहेको सुपर सिक्स्टिनदेखि रेडहुँदै ड्रोन क्यामरासमेत प्रदर्शनका लागि राख्नेछ । क्यामरासँगै इभेन्टमा कलेजका विद्यार्थीले आगन्तुकलाई अभिनयको शैली बुझाउन आफैंले अभिनय गरेर पनि देखाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu