चर्चित हास्यकलाकार शिवहरी पौडेलको निर्देशनमा बन्न लागेकोे चलचित्र ‘लक्का जवान’ को शुभ मुहूर्त गरिएको छ । सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गरियो । चलचित्रको बुधबारबाट छायांकन सुरु हुनेछ । भने, पहिलो सेड्युलका लागि काभ्रे रोजिएको छ । यो चलचित्रबाट शिवहरीले निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिने बताइएको चलचित्रको प्रस्तुतकर्तामा ध्रुव पन्त छन् । किरण केसी, दीलिप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्मातामा रहेको चलचित्रमा अनसुया श्रेष्ठ वन्त निर्मात्रीमा छिन् । सह-निर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी रहेका छन् ।

चलचित्रमा निर्देशक पौडेल स्वयंको प्रमुख भूमिका रहनेछ । उनीसँगै किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रका गीतमा बाबुल गिरीले संगीत भरेका छन् ।
मित्र डि. गुरुङले सम्पादन गर्ने ‘लक्का जवान’ खिच्ने जिम्मेवारी पुरुषोत्तम प्रधानको काँधमा छ । चैत ७ गतेबाट प्रदर्शनमा आउने चलचित्रको काभ्रेमा ७० र काठमाडौंमा ३० प्रतिशत छायांकन हुनेछ । धरमराएको करिअर उकास्न एउटा हिट चलचित्रको पखाईमा रहेकी अभिनेत्री वर्षाको यस चलचित्रमा कोसँँग जोडी बाँधिनेछ भन्ने निर्माण टिमले खुलाएको छैैन ।




