निश्चल भन्छन्, ‘कुनै विधामा स्थापित हुने सोच छैन’



अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले अनस्क्रिन रोमान्स गरेको चलचित्र ‘घामड शेरे’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । हेमराज विस निर्देशित यस चलचित्रमा उनीहरु भेना र सालीको भूमिकामा छन् । सुर्खेतको पृष्ठभूमिमा बुनिएको कथामा श्रीमती हुँदा-हुँदै निश्चलको सालीप्रतिको प्रेमलाई फिल्ममा देखाइएको छ । चलचित्रको मूलकथा निश्चलको वरिपरि घुमेको छ । सुष्मा निरौलाले उनको श्रीमतीको भूमिका निभाएकी छन् ।

आफूले यसअघि गरेका भूमिकाभन्दा भिन्न लागेका कारण ‘घामड शेरे’ मा काम गर्न राजी भएको अभिनेत्री स्वस्तिमाको भनाई छ । उनी भन्छिन्, ‘धेरैले म र निश्चल चलचित्रमा प्रेमी-प्रेमिका वा श्रीमान्-श्रीमतीको भूमिकामा होलान् भन्ने सोचेका थिए । तर, ट्रेलर सार्वजनिक भएपछि धेरै सरप्राइज भए । मलाई पनि स्क्रिप्ट पढ्दा रमाइलो हुन्छ भन्ने लागेरै चलचित्र गरेको हुँ ।’ पर्दामा श्रीमान् निश्चलको सालीको भूमिका निर्वाहा गर्न कुनै असहज नभएको उनको अनुभव छ ।

उनलाई लाग्छ गत वर्ष प्रदर्शनमा आएको ‘नेसनल अवार्ड विनर’ चलचित्र ‘बुलबुल’ पछि आफूमाथि धेरै ठूलो चुनौती र जिम्मेवारी थपिएको छ । ‘बुलबुल’ सँग ‘घामड शेरे’ मा निभाएको चरित्र दाँज्नु नै गलत हुने बताउँदै उनले भनिन्, ‘दुबै चलचित्रमा मेरो चरित्र विल्कुलै अलग छ । चलचित्र नै पूरै फरक छ । तर, ‘बुलबुल’ पछि ममाथि जिम्मेवारी थपिएको छ भन्ने चाहिँ लाग्छ ।’ दर्शकको अपेक्षा आफूमथि निकै बढेका कारण दबाब महशुस हुने उनको भनाई छ ।

निर्देशकबाट अब हिरो बन्ने दौडमा रहेका निश्चल पहिलो पटक ‘घामड शेरे’ बाट मुख्य नायकको रुपमा आउँदैछन् । ‘लुट’ बाट आफूलाई कुशल निर्देशकको रुपमा स्थापित गरेका उनलाई ‘घामड शेरे’ ले हिरोको रुपमा स्थापित गर्छ भन्ने लाग्छ ? यो प्रश्नमा उनको जवाफ भिन्न आउँछ । उनी आफू कुनै विधामा स्थापित हुन चलचित्रमा प्रवेश नगरेको बताउँछन् । ‘न म निर्देशकको रुपमा स्थापित हुन आएको थिएँ न त हिरोको रुपमा आउन लागेको हुँ’, उनले भने ।

आफूमा न नम्बर वान हिरो न त नम्बर वान निर्देशक बन्ने सोच भएको उनको भनाई छ । निश्चल अगाडि भन्छन्, ‘म कर्ममा विश्वास गर्छु । काम राम्रो गरेँ भने दर्शकले मन पराउँछन् भन्ने मलाई विश्वास छ । त्यसैले म इमान्दारपूर्वक काम गर्छु । कुनै विधामा स्थापित हुने सोच छैन ।’ उनले आफूले अभिनय गर्ने र बनाउने चलचित्र फरक फरक हुने प्रतिवद्धता पनि व्यक्त गरे । उनी ‘घामड शेरे’ गर्न राजी हुनुको कारण कथावस्तुलाई मान्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu