राजनीति र र्‍यापमा सँगसँगै बालेन : कान्छा प्रधानमन्त्रीको दौडमा रहेका गायकका तीन नयाँ गीत आउँदै



काठमाडौं – कतिपय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले काठमाडौंका पूर्व मेयर बालेन्द्र शाह (बालेन) लाई ‘पूर्व र्‍यापर’को संज्ञा दिए पनि उनी अझै साङ्गीतिक क्षेत्रमा उत्तिकै सक्रिय छन्। ३५ वर्षको उमेरमा देशकै कान्छा प्रधानमन्त्री बन्ने दौडमा रहेका बालेनले राजनीतिक यात्रासँगै आफ्नो हिप-हप गायनलाई पनि निरन्तरता दिइरहेका छन्।

यसको ज्वलन्त उदाहरण हो, ठिक दुई महिनाअघि सार्वजनिक भएको उनको गीत ‘आम नेपाली बुवा’। चलचित्र ‘झरीपछिको इन्द्रेणी’ मा समावेश यस गीतले दर्शक तथा श्रोताको निकै राम्रो साथ पाइरहेको छ। प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा उनका समर्थकहरूले यही गीतको पृष्ठभूमिमा लाखौँ भिडियोहरू बनाएर सामाजिक सञ्जालमा भाइरल बनाएका थिए।

यसैबिच, गायक बालेनका फ्यानहरूका लागि अर्को एउटा खुसीको खबर बाहिरिएको छ। विगतमा सार्वजनिक भएर पनि पर्याप्त चर्चामा आउन नसकेका आफ्ना तीन वटा पुराना गीतलाई ‘रि-मास्टर’ गरेर उनले आफ्नै युट्युब च्यानलमार्फत पुनः श्रोतामाझ ल्याउने तयारी गरेका छन्। बालेन निकट स्रोतका अनुसार यी गीतहरू उत्कृष्ट ध्वनि गुणस्तरसहित चाँडै नै नयाँ स्वरूपमा सार्वजनिक हुनेछन्।

नयाँ स्वरूपमा आउन लागेका ती गीतहरूमा सन् २०२१ मा स्पटिफाईमा रिलिज भएको त्रिशला गुरुङसँगको सहकार्य रहेको ‘माया’ समावेश छ। त्यसै गरी, चार वर्षअघि युट्युबमा अडियो भर्सनमा आएको रचना दाहालसँगको ‘सबैलाई हतार छ’ र ११ वर्षअघि आफ्नै च्यानलमा अडियोकै रूपमा सार्वजनिक भएको ‘जय महाकाली’ लाई पनि परिमार्जित गर्दै ल्याउन लागिएको स्रोतले पुष्टि गरेको छ।

‘बलिदान’ र ‘साभेज’ जस्ता चर्चित गीतहरूमार्फत सामाजिक सञ्जालमा तहल्का मच्चाइसकेका बालेन सङ्गीतलाई केवल मनोरञ्जनको साधन मात्र मान्दैनन्। विश्वका प्रमुख महानगरहरूको सङ्गठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिसेस’ लाई दिएको एक अन्तर्वार्तामा उनले सङ्गीतलाई युवापुस्तालाई देशका गम्भीर र संवेदनशील मुद्दाहरूमा सचेत गराउने तथा जोड्ने एउटा सशक्त माध्यमको रूपमा प्रयोग गर्दै आएको स्पष्ट पारेका थिए। राजनीति र साङ्गीतिक कर्म दुवैलाई समानान्तर रूपमा अगाडि बढाइरहेका बालेनको यो नयाँ साङ्गीतिक कमब्याकलाई उनका समर्थकले निकै चासोका साथ हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu