शुक्रबारबाट प्रदर्शनमा आएको हेमराज विसी निर्देशित चलचित्र ‘घामड शेरे’ दोस्रो गीत सार्वजनिक भएको छ । ‘साली मन पर्यो’ बोलको गीतलाई दर्शकले निकै रुचाएको अवस्थामा रोमान्टिक भावको ‘सादा सादा’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत छ । ‘कर्णाली ब्लुज’, ‘फिरफिरे’ फेम्ड लेखक बुद्धि सागरले गीत लेखेका हुन् ।
चलचित्रमा यो गीत कथावाचनको रुपमा प्रयोग गरिएको छ । गीतमा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । चलचित्रमा उनीहरु भेना र सालीको भूमिकामा छन् । गीतमार्फत् साली-भेनाको सम्बन्ध प्रेममा परिणत भएको देखाइएको छ । रिलिजपूर्व चलचित्रको सस्पेन्स खुल्ने डरले निर्माण टिमले यो गीत लुकाएको थियो ।

अपेक्षाकृत ओपनिङ गर्न नसकेको ‘घामड शेरे’ लाई दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । विदेशमा कमाएको पैसाले किनेको खेत खोलाले बगाएपछि ‘शेरे’ पात्रले गर्ने संघर्षको कथामा चलचित्र आधारित छ । चलचित्रको क्लाइमेक्स भने हलबाट निस्कँदा पनि दिमागबाट हट्दैन । अनुमान विपरित नभए पनि क्लाइमेक्स रोचक छ ।
चलचित्रमा सुष्मा निरौलाले अभिनेताम निश्चलको श्रीमतिको भूमिका निभाएकी छन् । बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रमा अभिनेत्री गौरी मल्ललाई अतिथि कलाकारको रुपमा देख्न सकिन्छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रको कथा तथा पटकथा निर्देशक विसीले नै लेखेका हुन् ।
गीत हेर्नुहोस् :-




