‘कबड्डी ३’ ले मनायो प्रदर्शनको ५१ दिन, कमाई कति ?



लोकल कथालाई मन छुने ढंगबाट पस्कने निर्देशकको रुपमा आफूलाई स्थापित गरेका रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ यस वर्षको ब्लकबस्टर चलचित्र बनेको छ । गएको असोज ३ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्रले सफलताको मानक मानिने ५१ दिने यात्रा सफलतापूर्वक पार गरेको छ । शनिबार यो चलचित्रले राजधानीका पाँच हलमा प्रदर्शनको ५१ दिन मनाएको हो ।

बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा चलचित्रले प्रदर्शनको ५१औं दिन मनाएको निर्देशक गुरुङले बताए । वितरक कम्पनी स्टेशन फाइभले चलचित्रको कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरेको छ । चलचित्रले ५१ दिनसम्ममा १४ करोड ग्रसको आँकडा नाघेको छ । यस वर्षको असोजसम्म कुनै चलचित्रले यो आँकडा छुन सकेका छैनन् ।


‘कबड्डी ३’ यस वर्ष ५१ दिन मनाउने तेस्रो चलचित्र पनि बनेको छ । यसअघि ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ ले ५१ दिन मनाउन सफल भएका थिए । ‘कबड्डी’ सिरिजमा सबैभन्दा ठूलो व्यापार गर्ने चलचित्र हो यो । अघिल्ला दुई सिरिजले बक्सअफिसमा ७ करोडभन्दा बढी छाप्न सकेका थिएनन् । ब्रान्ड नामका कारण चलचित्रले हलमा लामो यात्रा तय गर्न सफल भएको हो ।

चलचित्रले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu