
दक्षिण भारतीय सुपरस्टार यश अभिनीत बहु प्रतीक्षित चलचित्र ‘टक्सिक : अ फेयरीटेल फर ग्रोन-अप्स’ को विश्वव्यापी प्रदर्शन मिति पछाडि धकेलिएको छ। आगामी मार्च १९ का लागि तय भएको रिलिज मिति मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावका कारण स्थगित गर्दै आगामी जुन महिनाका लागि सारिएको हो। विशेष गरी अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणपश्चात् उत्पन्न अस्थिरताले चलचित्रको विश्वव्यापी प्रदर्शनलाई प्रत्यक्ष प्रभावित बनाएको बताइएको छ।
अभिनेता तथा निर्माता यशले बुधवार निर्माण पक्षको तर्फबाट एक आधिकारिक वक्तव्य जारी गर्दै रिलिज मिति सारिएको पुष्टि गरेका हुन्। कन्नड र अङ्ग्रेजी भाषामा छायाङ्कन गरिएको यो चलचित्र कुनै एक निश्चित भूगोलमा मात्र नभई विश्वभरका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको हो। वक्तव्यमार्फत यशले वर्षौँको अथक मेहनतपछि मार्चमै दर्शकमाझ आउने उत्साह रहे पनि वर्तमान विश्व परिवेशको अनिश्चितताले आफ्नो योजनामा परिवर्तन गर्न बाध्य बनाएको स्पष्ट पारेका छन्।
विश्वव्यापी रूपमा अधिकतम दर्शकसम्म पुग्ने निर्माण टोलीको लक्ष्यलाई मध्यपूर्वको द्वन्द्वले असर पुर्याउने देखिएपछि यो कठिन निर्णय लिइएको बताइएको छ। सो क्षेत्रको स्थिति सामान्य हुने अपेक्षासहित अब यो चलचित्र आगामी जुन ४ का दिन मात्र सिनेमाघरमा आउनेछ। निर्माण पक्षले आफ्ना व्यावसायिक साझेदार र दर्शकको हितलाई सर्वोपरि राख्दै सोचविचार गरेरै मिति सार्ने निर्णय गरिएको जनाउँदै दर्शकहरूले देखाएको धैर्य र समझदारीप्रति आभार समेत प्रकट गरेको छ।
यता, ‘टक्सिक’को रिलिज मिति पर सरेसँगै बलिउड अभिनेता रणवीर सिंहको चलचित्रलाई भने ठुलो फाइदा पुगेको छ। मार्च १९ मै प्रदर्शनमा आउन लागेको आदित्य धर निर्देशित जासुसी थ्रिलर ‘धुरन्धर २’ ले अब बक्स अफिसमा यशको चलचित्रसँग भिड्नु पर्नेछैन। यसअघि बक्स अफिसमा ठुलो व्यावसायिक भिडन्त हुने अनुमान गरिएकोमा, अब भने रणवीरको चलचित्रले सो मितिमा लगभग एकल प्रदर्शनको सुनौलो अवसर प्राप्त गर्ने सम्भावना बढेको छ।



