फेसबुकमा तथानाम भन्नेलाई सार्वजनिक गर्दै निशा अधिकारी 



काठमाडौं – गतिशील लोकतान्त्रिक पार्टीकी  काठमाडौं–५ की उम्मेदवार अभिनेत्री निशा अधिकारीले सामाजिक सञ्जालमा आफूमाथि भइरहेको निरन्तरको व्यक्तिगत गालीगलौज र चरित्रहत्याप्रति कडा आपत्ति जनाएकी छन्। उम्मेदवारी दर्ता गराएसँगै आफूलाई लक्षित गरी भइरहेका दुर्व्यवहारबाट रुष्ट बनेकी उनले आलोचकहरूलाई ‘अति र अत्याचार नगर्न’ भन्दै कडा चेतावनी दिएकी छन्।

यसअघि विभिन्न सञ्चारमाध्यममा समेत यसबारे गुनासो पोख्दै आएकी अधिकारीले बुधवार बिहान भने सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गर्नेहरूका विवरण (स्क्रिनसट) नै सार्वजनिक गरेकी छन्। यस पटक आफूले गाली गर्नेहरूको नाम र परिचय नलुकाएको स्पष्ट पार्दै उनले लेखेकी छन्, “कहिलेकाहीँ घृणा गुमनाम भएर होइन, खुलेआम सामान्यीकृत भएर फैलिन्छ।”

विशेष गरी राजनीति र सार्वजनिक जीवनमा महिलाले नेतृत्व लिन खोज्दा समाजले हेर्ने दूषित दृष्टिकोणप्रति उनले गम्भीर प्रश्न उठाएकी छन्। महिलाहरू अघि बढ्न खोज्दा उनीहरूको राजनीतिक एजेन्डा, नीति र क्षमताको मूल्याङ्कन हुनुको सट्टा व्यक्तिगत जीवन र चरित्रमाथि प्रहार हुने गरेको तितो यथार्थ उनले औँल्याएकी छन्। यस प्रवृत्तिको कडा आलोचना गर्दै उनले प्रश्न गरेकी छन्, “महिलाले नेतृत्व लिन खोज्दा सबैभन्दा पहिले किन उनको नीति होइन, निजी जीवन छानिन्छ ? किन उनको क्षमता होइन, चरित्रमाथि प्रश्न उठाइन्छ ?”

यस्ता व्यक्तिगत आक्षेप र गालीगलौजले आफ्नो राजनीतिक यात्रा र मनोबल विचलित नहुने अठोट व्यक्त गर्दै अधिकारीले वर्तमान राजनीतिक संस्कारमाथि नै गम्भीर विमर्श हुनुपर्ने धारणा राखेकी छन्। लोकतन्त्रमा असहमति राख्न पाइने तर त्यसले व्यक्तिको सम्मानलाई कुल्चिन नहुने उनको तर्क छ। सामाजिक सञ्जालमा प्रयोग हुने भाषाले नै हाम्रो लोकतन्त्रको वास्तविक स्तर निर्धारण गर्ने बताउँदै उनले असहमतिलाई अपमानमा बदल्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu