‘लभ डायरिज’ को गीतमा ‘ट्वीन्स गर्ल’ को छमछमी



कात्तिक १५ गतेबाट पोस्टपोन्ड भएको अभिनेता सुशील श्रेष्ठ अभिनीत चलचित्र ‘लभ डायरिज’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । अब, यो चलचित्र आउँदो फागुन २ गतेबाट देशैभर प्रदर्शनमा आउने निर्देशक सौरभ चौधरीले जानकारी दिए । चलचित्र प्रेम दिवसकोे मेसोमा प्रदर्शन हुन लागेको हो । यसबीच, चलचित्रको एक गीत हालै छायांकन गरिएको छ ।

पाँचतारे होटल हायातमा आइतबार चलचित्रको रोमान्टिक गीत खिचिएको हो । जसमा चलचित्रका प्रमुख अभिनेता सुशील र नव-अभिनेत्री रुबिना थापाले ठुम्का लगाएका छन् । भने, दुईलाई ‘ट्वीन्स गर्ल’ प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडाले साथ दिएका छन् । उनीहरु टिक-टकमा निकै भाइरल छन् । पहिलो पटक ‘ट्वीन्स गर्ल’ ले चलचित्रको गीतमा नृत्य गरेका हुन् ।


अर्जुन पोखरेल शब्द तथा संगीत रहेको ‘छम छम छम…’ बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ । यो गीतले चलचित्रको हाइप निर्माणमा ठूलो भूमिका खेल्ने विश्वास निर्माण टिमको छ । चलचित्रमा सुशील र रुबिनाको अलावा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको अभिनय छ ।


युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई चलचित्रमा समावेश गरिएको निर्देशक चौधरी बताउँछन् । चलचित्र मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई छ । फिल्ममा अभिनेता सुशीलले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् । उनी यो चलचित्रलाई लिएर निकै आशावादी देखिएका छन् ।


‘लभ डायरिज’ मा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’ को व्यानरमा निर्माण भएको लभस्टोरी चलचित्रमा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माण छ । नायिका थापा चलचित्रलाई लिएर निकै उत्साहित छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu