संगीतकारको रुपमा आफूलाई स्थापित गरेका कोशिश क्षेत्री अहिले अभिनेताको रुपमा बढी व्यस्त छन् । चलचित्र ‘मोक्ष’ बाट अभिनय करिअर सुरु गरेका उनले ‘पर्व’ र ‘रातो गलबन्दी’ गरि तीन चलचित्रमा काम गरिसकेका छन् । ‘कालो दाई’ जस्तो चर्चित गीतमा संगीत भरेका उनको नयाँ चलचित्र ‘माया पिरिम’ आउँदो मंसिर २० गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

उनी यो चलचित्रमा निभाएको भूमिकालाई लिएर निकै उत्साहित छन् । टेक पौरखी राई निर्देशन रहेको चलचित्रमा कोशिशका अलावा सलोन बस्नेत, किरण चन्द, अन्जली अधिकारी, अर्जुन गुरुङलगायतको अभिनय छ । प्रेम कथामा आधारित चलचित्रलाई सविन अधिकारीले लेखेका हुन् ।
प्रविन थापा र सविन अधिकारीको निर्माण तथा कोषराज दाहाल कार्यकारी निर्मातामा रहेको ‘माया पिरिम’ मा मोहन मरासैनी र युवराज दाहाल सह–निर्माताका रूपमा रहेका छन् । यो चलचित्रलाई निरज कँडेलले खिचेका हुन् । चलचित्रको गीतमा अभिनेता कोशिश स्वयंले संगीत भरेका छन् ।




