सोफियाको तीज गीतलाई हाइलाइट्सले राख्यो ‘प्राइभेट’ मा



सोफिया थापाको स्वरमा रहेको ‘अबको तीज नो ब्रत प्लिज’ बोलको तीज गीत यूट्युबमा ‘प्राइभेट’ मा राखिएको छ । गीतले तीजको मर्म र हिन्दू महिलाहरुको आस्थामा ठेस पुर्‍याएको भन्दै गायिका सोफियालाई यूट्युबबाट गीत हटाउन विभिन्न धार्मिक संगठनहरुले धम्की र दबाब दिएका थिए । गीत हटाउन धम्की आएको भन्दै गायिका थापाले प्रहरीमा उजुरी पनि दिएकी थिइन् ।

गीतको शब्दलाई लिएर विवाद भएपछि हाइलाइट्स नेपालले बुधवार गीतको भिडियोलाई ‘प्राइभेट’ मा राखेको छ । हिन्दू जागरण नेपालले हाइलाइट्स नेपाललाई पत्रचार गर्दै उक्त गीत हटाउन आग्रह गरेको थियो । यो संस्थाले बुधवार गीत धर्म सम्बन्धि कानून विरुद्ध भएकाले भिडियो यूट्युबबाट हटाउन आग्रह गर्दै हाइलाइट्स नेपाललाई पत्र पठाएको थियो ।

पत्रमा लेखिएको छ, ‘तीजको मौलिकतामा प्रकाश पार्नुको बदला उल्टै विध्वंस गर्ने सन्देश दिने खालको गीत तयार गरेर समाजको संस्कृतिप्रति जे बोल्दा पनि हुन्छ भन्ने खालको भावनाको विकास गरी नेपालको संविधानको धर्म सम्बन्धि कसुर दफा १५३ र १५७ बमोजिम कानून विरुद्ध भएकाले यो भिडियो हटाउन अनुरोध गर्दछौं ।’ धार्मिक संठगनहरुसँग सहमति नभएसम्म गीतलाई प्राइभेटमा राखिने हाइलाइट्सले जानकारी दिएको छ ।

सोफिया थापाको तीज गीतको म्युजिक भिडियोलाई मनिष पन्थले निर्देशन गरेका हुन् । छायांकन, सम्पादन पनि उनैको हो । लोकेन्द्र शाहले कोरियोग्राफी गरेका छन् । यसमा मेनुका थापा, पूजा गहतराज, अनिशा गौतम, बबिता धिताल, प्रियंका थापा, श्रद्धा थापा, रजनी केसी, अग्रिम पण्डित आदिले नृत्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu