‘हिरो’ बन्नकै लागी १३ बर्षदेखी संघर्ष गरेँ: रोहित



नेपाली चलचित्रमा ‘हिरो’ बन्नकै लागी १३ बर्षदेखी संघर्ष गरेका युवा हुन्, रोहित रुम्बा । घरमा बुवाले छोरालाई लाहुरे बनाउने भनेर लागेपनि आफुमा बाल्यावस्थादेखी नै चलचित्रकै नायक भन्ने भुत चढेकोले वुवाको कुरा समेत नमानेको बताउने रोहित ‘गडफादर’ नभेटेकोले नै आजसम्म चलचित्र क्षेत्रमा जम्न नसकेको बताउँछन् । रोहितले गायनको क्षेत्रमा करिब १४ बर्षे अनुभव सँगालेका अनि कराँतेमा ‘ब्ल्याकबेल्ट’ समेत गरिसकेका छन् ।

करिब दर्जन जति चलचित्र मार्फत सिनेमाको पर्दामा देखिएका रोहितले ‘लिड रोल’मा अभिनय गरेको पछिल्लो चलचित्र ‘तोरी लाहुरे’ आउँदो फाल्गुण २३ गतेबाट प्रदर्शनमा आउँदैछ जसलाई रोहितले आफनो ‘फिल्मी क्यारियर’को ‘टर्निङ् पोईन्ट’ हुने दावी गरेका छन् । प्रस्तुत छ, रोहितसँग ठुलोपर्दा डटकमका बैकुण्ठराज पराजुलीले गरेको कुराकानीको संपादित अंशः

* ‘तोरी लाहुरे रिलिज समय आईसक्यो, कस्तो व्यस्तता छ ?
मेरो मुख्य अभिनय रहेको पछिल्लो चलचित्र ‘तोरी लाहुरे’ आगामी फागुन २३ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा छ । त्यसैले पनि पछिल्लो समय चलचित्रको प्रचार-प्रसारमा नै व्यस्तता बढेको छ । मिडियाहरुमा अन्तरवार्ता दिने देखी चलचित्रसँग जोडिएका बाहिरी कार्यक्रमहरुमा समेत सहभागिता जनाईरहेको छु ।

* ‘तोरी लाहुरे’ कस्तो चलचित्र हो ?
सिधा अर्थमा भन्नुपर्दा ‘तोरी लाहुरे’मा नेपालमा व्याप्त बेरोजगार समस्यालाई ब्याङ्ग्यात्मक रुपमा पर्दामा उतारिएको छ । नेपालमा बढ्दो बेरोजगारी समस्याबाट युवामा परेको प्रभाव र यसले आम युवावर्गमा परेको मानसिक असरको परिणामलाई यो चलचित्रमा समेटिएको छ ।

rohit

* ‘तोरी लाहुरे’मा दर्शकहरुले रोहितलाई कस्तो पात्रका रुपमा देख्न पाउँछन् ?
अब चलचित्र नै बेरोजगार युवाको कथामा जोडिएकोले म पनि यो चलचित्रमा एक बेरोजगार नेपाली युवकको भुमिकामा देखिँदैछु । जसले धेरै पैसा कमाएर खुसी तथा रमाईलो जीवनयापन गर्ने सोच राखेको हुन्छ, तर त्यो सपना पुरा गर्न आम्दानीको लागी कुनै श्रोत नपाउँदा उसले झेल्ने समस्यादेखीका हरेक पक्षहरुलाई यो चलचित्रमा म सँगै अर्का नायक गजित बिष्टलगायतले चित्रित गर्ने प्रयास गरेका छौं ।

* नायक बन्नको लागी लामो समयदेखी संघर्षरत रोहितलाई के यो चलचित्रले ‘हिरो’को रुपमा चिनाउला ?
अवश्य पनि हजुरले भने जस्तै बैकुण्ठजी, मैले नेपाली सिनेमामा जम्नको लागी पछिल्लो १३ बर्षदेखी संघर्ष गरिरहेको छु । र मैले अभिनय गरेका धेरै चलचित्र प्रदर्शनमा आएपनि म खासै चिनिन सकिन । पछिल्लो पटक मेले अभिनय गरेको र प्रदर्शनको तयारीमा रहेको यो चलचित्र ‘तोरी लाहुरे’मा म ‘लिड रोल’मा छु । त्यसैले पनि अहिलेलाई मेरो आशा, विश्वास अनि सफलताको कडिको रुपमा चिनाउन पाउने मेरो चलचित्र नै ‘तोरी लाहुरे’ बन्नेमा विश्वस्त छु । किनकी यो चलचित्रमा मैले निर्माता निर्देशकले दिएको जिम्मेवारीलाई निकै मेहनतका साथ पालना गर्दै सकेसम्म राम्रो गर्ने प्रयास गर्दै चलचित्रलाई स्तरिय बनाउने प्रयास गरेको छु ।

बिशेषतः बेरोजगार बनेका धेरै नेपाली युवाहरुको जीवन कहानी समेटिएकोले धेरै दर्शकहरुले त्यसमा पनि युवा दर्शकहरुले मनपराउनु हुनेछ, अनि ‘रोहित रुम्बा पनि राम्रो अभिनय क्षमता भएको कलाकार, नायक हो है’ भनेर चिनाउनमा मद्दत गहर्नुहुनेछ भन्नेमा आशावादी छु । र यो चलचित्र मेरो जीवनको ‘टर्निङ् पोईन्ट’ नै हुनेछ भन्नेमा पनि ढुक्क छु ।

* कदमकदापी, यो चलचित्र व्यापारिक रुपमा सफल हुन सकेन भने त्यो पछीको दिनमा रोहित यही ‘फिल्ड’मा लागिरहन्छ कि अन्य ‘फिल्ड’ रोज्छ त ?
नाई, अहिले नै यो चलचित्र असफल होला र अरु के गरौला भन्न तर्फ नसोच्दा नै बेस होला । किनकी तत्कालको मेरो आशा भरोशा भनेको नै ‘तोरी लाहुरे’मा छ । तर कुनै एक चलचित्रको सफलता र असफलताको पछाडी लागेको भए सायद म आजको दिन सम्म चलचित्र भनेर हिड्ने थिईन होला । म त , यो क्षेत्रलाई नै कर्मथलो बनाउन १३ बर्षदेखी संघर्ष गरेको मान्छे, त्यसैले मैले सकेअनुसार अनि दर्शकको माया पाउन्जेल र रुचाईदिन्जेल म यो क्षेत्रमा नै क्रियासिल हुनेछु । किनकी मेरो नशा नशामा नेपाली चलचित्र छ, मेरो मन मुटु अनि मस्तिष्कमा नेपाली चलचित्र छ ।

* ‘हिरो’ बन्नकै लागी १३ बर्षसम्म संघर्ष गरेको मान्छे, यो बीचमा के पाउनु भयो ?
सुरुमा त कलाकारिता क्षेत्रमा आउन चाहने जो कोहीमा पनि अभिनय गर्न सक्ने क्षमता त हुन पर्यो नै । त्यसपछी मैले बुझेअनुसार अनि पाए अनुसार यो क्षेत्रमा जम्नको लागी ‘गडफादर’ नै चाहिने रहेछ । किनकी आजको समयसम्म मैले कोही ‘गडफादर’ पाईन । त्यसैले त म स्थापित कलाकारको रुपमा चिनिन सकेको छैन । अनि अर्को कुरा मैले बुझेअनुसार नेपाली समाजको मध्यम तथा निम्न वर्गिय परिवारको मान्छेले नेपाली चलचित्रको कुनै ‘हिरो’ बन्छु भनेर नसोच्दा नी हुने रहेछ जस्तो पनि लागिरहेको छ । किनकी यहाँ पैसा खर्च गर्न नसक्ने मान्छे हिरो बन्छु भनेर सपना नदेख्दा पनि हुन्छ ।

* वास्तविक जीवन र पर्दामा आइसकेपछीको जीवनमा कस्तो फरक छ ?
म त बच्चा देखी नै ‘हिरो’ बन्ने सपना बुनेको मान्छे । त्यसैले सुरुवाती दिनहरुमा मैले जति सहज सोचेको थिएँ, त्यो बिल्कुलै पाईने रैनछ । यदी मैले सोचेनुसार नै भएको भए मैले १३ बर्षसम्म संघर्ष मात्रै गरिरहनु पर्ने थिएन होला । चलचित्रमा अभिनयको दौरानमा वास्तविक जीवनमा भोग्दै नभोगेको कुरा पनि गर्नुपर्ने हुन्छ, त्यसमा अन्य गतिबिधीहरु जस्तै रोमान्स, हाँसो-रोदन, कमेडी सबै पर्दाको लागि मात्रै हुन्छ । अनि सामान्य जीवनयापनमा जस्तो पर्दामा आइसकेपछिको जीवन सहज हुदैन ।

हिड्दा बस्दा खाँदा हरेक कुराहरुमा बिचार पुर्याउनुपर्ने समेत हुन्छ । त्यही हो वास्तविक तथा सामान्य जीवन अनि पर्दामा आईसकेपछिको जीवनमा धेरै फरक छ ।

* चलचित्रमा आउनको लागी हालसम्मको यात्रा कस्तो रह्यो ?
हालसम्मको पिरियडको सबै कुरा खोतल्दा त कतिपय ठाउँमा हाँसो उठ्छ भने केही दुखी पनि हुन्छु । किनकी किनै समय म हिरो बन्ने भन्दै हाम्रा अग्रज नेपाली नायकहरु तथा बलिउडका पनि कतिपय कलाकारहरुको पोस्टरको टाउको मात्र छुट्याएर आफ्नो मेरो फोटोमा जोड्दै त कहिले उनीहरुको शरिरमा मेरो टाउको जोडेर कस्तो देखिएको छ भन्दै समेत साथीहरुलाई सोध्दै हिँड्ने गर्थें । त्यो त मेरो चाहना को बिषय भयो, अनि अर्को पाटोबाट भन्नुपर्दा घरपरिवारको साथ पाएन भने झनै गार्हो हुने रहेछ । यस्ता अनेकन आरोह-अवरोहहरु छन हालसम्मको यात्राको । यो यात्रा सुखद, दुखद दुबैको समिश्रण छ भन्नुपर्छ, अहिलेसम्म ।

* चलचित्रमा आउनमा प्रेरणा दिने व्यक्ति को हो ?
मेरो आमाको साथ पाएर नै हालसम्म म यो क्षेत्रमा लागिरहन पाईरहेको छु । सायद उहाँको साथ अनि समर्थन पाएको हुने थिईन भने आजसम्म यो क्षेत्रमा अनवरत रुपमा सँघर्ष गरिरहेको हुने थिईन होला । आजसम्मको सबै पक्षको श्रेय मेरो आमालाई नै जान्छ ।

* अन्त्यमा के भन्न चाहनुहुन्छ ?
यो अन्तरवार्ता पढ्दै गर्नु भएका सम्पुर्ण पाठकहरुमा म के भन्न चाहन्छु भने आउँदो फागुन २३ गरतेबाट मेरो ‘लिड रोल’मा अभिनय रहेको चलचित्र ‘तोरी लाहुरे’ प्रदर्शन हुँदैछ । तपाईँ पनि आफ्नो नजिकको पायक पर्ने हलसम्म गएर चलचित्र हेर्दिनुहोला । यो चलचित्र हेरुन्जेल कुनै पट्यार महसुस हुने छैन । तपाईको समय अनि पैसा दुबैको बचत हुनेछ । दर्शकहरुको माया ममता अनि साथ नै हरेक कलाकारको सफलताको कडी बन्ने हो, त्यसैले चलचित्र हेरेर राम्रो नराम्रो ‘कमेन्ट’ गरिदिनुहोला भन्न चाहन्छु । अनि मेरा केही तिता अनि केही मिठा अनुभवहरुलाई बाहिर निकाल्न सहयोग गर्नु भएकोमा तपाई अनि यो ‘ठुलोपर्दा डटकम’ टिमप्रति आभारी छु ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu