नेफ्टा अध्यक्षको काईदा | विज्ञप्तीबाट सुवासलाई फकाए



बैकुण्ठराज पराजुली। शुक्रवार दिउँसो एक विज्ञप्ती जारी गर्दै ‘नेपाल चलचित्र प्राविधिक संघ’ले आगामी चैत्र १४ गतेबाट रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘नोभेम्वर रेन’लाई सोलो रिलिजको लागी अवसर दिनु भन्दै चलचित्रसंग सम्बन्धित बिभिन्न संघ संस्थालाई आग्रह गर्यो । केहि समय अगाडी मलेशियामा सम्पन्न ‘नेफ्टा अवार्ड’मा प्रायोजकको भुमिका खेल्दै महत्वपुर्ण सहयोग गरेका ‘नोभेम्वर रेन’ निर्माता सुवास गिरीको पक्षमा उभिंदै संघले यस्तो आग्रह गरेको हो ।

नेपालमा हरेक हप्ताजसो चलचित्र जुध्दै हलमा आउने अनि केहि दिनमा नै उत्रिने प्रकृया चलिरहेको अवस्थामा एक पाटोबाट हेर्दा प्राविधिक संघले कुनै पनि निर्माताको पक्षमा उभिएर चलचित्रलाई सोलो रिलिजको लागी आग्रह गरिनु राम्रो कुरा हो । किनकी एक नेपाली चलचित्र संग अर्को चलचित्र जुध्नु भनेको एक निर्मातासंग अर्को निर्माताको प्रतिस्पर्धा हो, जसले चलचित्र चल्दा या नचल्दा समान प्रभाव दुवैलाई पारेको हुन्छ ।

तर, कहिले दुई वा तीन तथा कहिले पाँचवटा सम्म चलचित्र हलमा प्रदर्शनमा आएर जुध्दै निर्माता टाट पल्टिरहेको अवस्थामा मौन बस्ने प्राविधिक संघले एकाएक आएर ‘नोभेम्वर रेन’ चलचित्रलाई सोलो रिलिजको लागी आग्रह गर्दै प्रकाशित विज्ञप्तीले सबैलाई आश्चर्यमा पारेको छ । जसका कारण अनेकन प्रश्नहरु समेत खडा भएका छन् ।

subash-manoj

‘नोभेम्वर रेन’को पक्षमा देखिंदै सोलो रिलिजको लागी आग्रह सहितको विज्ञप्ती केवल प्राविधिक संघ अध्यक्ष मनोज केसीले ‘नेफ्टा अवार्ड’को समापनसंगै चिसिएको सुवाससंगको सम्बन्धलाई पुनः जोड्नको लागी बाहनाको रुपमा मात्र ल्याईएको बिश्लेषण सुरु भएको छ । किनकी मलेशियामा ‘नेफ्टा’ अवार्ड सकाएर नेपाल आएको केहि दिनमा नै मनोज केसीले चिया गफदेखी बिभिन्न कार्यक्रममा समेत मिडियाकर्मी माझ सुवास गिरीकै कारण आफ्नो संस्थालाई धैरै घाटा भएको भन्दै संगत गर्नु नै गलत रहेछ भन्ने जस्ता प्रतिक्रिया दिएका थिए ।

जुन अवार्डमा मनोज केसी र उनको संस्था भन्दा पनि उल्टो सुवास गिरी नै करिब ३५ लाख बराबर घाटामा गएको खवर मिडियाहरुमा छ्याप्छयाप्ती आईरहेको छ । त्यसले पनि मनोज केसीले आफुलाई गौण बनाएर महासचिवको हस्ताक्षरमा प्रकाशित गरेको उक्त विज्ञप्ती चलचित्र ‘सिंगल’ रिलिजमा आउला र निर्माता ‘शेफ’ होला भन्ने नियतमा भन्दा पनि मात्र सुवास गिरीलाई फकाउने नियतमा आएको बुझ्न सकिन्छ ।

नेफ्टा अवार्डको प्रायोजक बनेका गिरी ठूलो घाटामा परेपछी नेपालमा आउन समेत सकेका छैनन् । आफ्नो चलचित्रको रिलिज मिती नजिकिंदै गर्दा समेत प्रचार प्रसारमा लाग्न नपाएका निर्माता गिरी नेपालमा नआउनुका पछाडी आफ्नै केहि कारण पनि होलान, तर ‘नेफ्टा’ अवार्डमा गरेको प्रायोजन र त्यसले निम्त्याएको घाटाको कारण पनि एक हुन सक्छ ।

यो अवस्थामा जताततैबाट घाटामा परेका निर्माता गिरीको घाउमा मलम पट्टीको लागी चलचित्र सोलो रिलिज हुनु र सफल हुनुले केहि हदसम्म भए पनि राहतको कुरा हुन सक्छ, तर हिजोसम्म सुवासले यस्तो गर्दा र उस्तो गर्दा राम्रो भएन भन्दै उनकै बिरुद्धमा अभिव्यक्ती दिने प्राविधिक संघ अध्यक्ष केसीले आज एकाएक ‘नोभेम्वर रेन’लाई सोलो रिलिजको लागी आग्रह गर्नु हांस्यास्पद बाहेक केहि हुन नसक्ला ।

नेपाली चलचित्रसंग जोडिएर हालसम्म देशभन्दा बाहिर कुनै पनि अवार्ड समारोह नभएको अवस्थामा ‘रिस्क’ लिएर नै मलेशियामा भव्य रुपमा अवार्ड समारोह सम्पन्न गराउनमा पक्का पनि कम हात सुवास गिरीको छैन । यो अवार्ड गराउनुमा नेफ्टा मात्र होईन प्रायोजक बनेका सुवास उत्तिकै प्रशंसाका पात्र हुन् ।

नेपालमा चलचित्र निर्माता संघले चलचित्रको वितरणको लागी मिती दिने गरेको छ, तर संघका एक सदस्यल दिएको जानकारी अनुसार हालसम्म कुनै संस्था वा व्याक्तीको आग्रहमा कुनैपनि चलचित्रलाई सोलो रिलिजको लागी व्यबस्था निर्माता संघले गरिदिएको छैन । यो बारेमा निर्माता संघको आधिकारिक भनाई बाहिर नआएपनि प्राविधिक संघको आग्रहमा नै ‘नोभेम्वर रेन’लाई सोलो रिलिजको व्यवस्था गर्ने कुरा न्युन छ ।

यो चलचित्रलाई सोलो रिलिजको व्यवस्था गर्नु भनेको यसको प्रतिस्पर्धामा आउन लागेका अन्य चलचित्रलाई भिडाउनु मात्र हो, यदी नोभेम्वर रेनको निर्माता ‘सेफ’ राख्नै जत्तिको जिम्मेवारी निर्माता संघमा छ त्यती नै यो चलचित्रको प्रतिस्पर्धामा आउन लागेको अर्को चलचित्रको निर्माताको लगानी डुब्न नदिने जिम्मेवारी पनि छ । यसले गर्दा कुनै संघ संस्थाको अनुनय बिनयमा निर्माता संघले चलचित्रको सोलो रिलिजको व्यवस्था पक्का पनि नगर्ने देखिन्छ ।

सम्पुर्ण चलचित्र प्राविधीकहरुको छाता संस्था प्राविधिक संघले चलचित्रकर्मी कै हितमा निर्मातालाई बचाउनको लागी सोलो रिलिजको लागी आग्रह गरिनु जायज कुरा हो । त्यसैले यदि निर्माताको पक्षमा उभिँदै सकारात्मक रुपमा बिज्ञप्ती निकालीएको हो भने यो कुरा आज नभएर धेरै समय पहिले नै आउन पनि सक्थ्यो, सुवासले मलेशिया अवार्ड गराउन सहयोग गरेजस्ता बिभिन्न सहयोग पक्का पनि अन्य निर्माताको पनि भएको हुन सक्छ, तर यो भन्दै गर्दा ‘नोभेम्वर रेन’को सोलो रिलिजको बिपक्षमा भने हामी होइनौं, किनकी यो पनि भन्दा अत्युक्ती नहोला कि कुनै एक चलचित्र सफल हुंदा त्यो चलचित्रको निर्मातालाई मात्र नभएर समग्र चलचित्र उद्योगको लागी सुखद कुरा हुन्छ ।

त्यसैले यदी कुनै स्वार्थको लागी फकाउने वा फुलाउने दाउमा यो बिज्ञप्ती आएको हो भने यसको पछाडी कुनै तुक देखिँदैन, तर निर्माताको पक्षमा आएको हो भने यो स्वागत योग्य काम हो, बिज्ञप्ती मात्र होईन चलचित्रको सोलो रिलिजको लागी प्राविधिक संघले अन्य माध्यम पनि अपनाएय अधै सशक्त रुपमा आवाज उठाउनुपर्छ, जुन कार्यलाई साथ नेपाली चलचित्रलाई माया गर्नै प्रायः सबैको हुनेछ ।

विज्ञप्ती पढ्नुहोस्ः
press-neft
Photo: Subash Giri (Left) and Manoj K.C.

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu