‘उचाइँ’ को छायांकनका लागि काठमाडौं आइपुगे अनुपम, बोमन र परिणिती



सूरज बडजात्याको निर्देशन रहने चलचित्र ‘उचाइँ’ को छायांकनका लागि बलिउडका चर्चित कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन काठमाडौं आइपुगेका छन् । आइतवार विहान १० बजे इन्डियन एयरलाइन्सको विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरुलाई काठमाडौं बौद्धस्थित पाँचतारे होटल हायतमा बस्ने व्यवस्था मिलाइएको छ ।

नेपाल आउने क्रममा आकाशबाटै कैद गरेको काठमाडौंको भिडियो आफ्नो इन्स्टाग्राममा साझेदार गर्दै अनुपम खेरले स्तूपा र मन्दिरहरुको शहरमा लामो समयपछि आउन पाएकोमा खुसी व्यक्त गरेका छन् । उनी यसअघि २०७१ सालमा नेपाल आएका थिए । परिणिती पनि यसअघि चलचित्र ‘सन्दिप और पिंकी फरार’ को छायांकनका लागि नेपाल आएकी थिइन् ।

‘उचाइँ’ को अधिकांश छायांकन हिमाली क्षेत्रमा गर्नुपर्ने भएकाले निर्देशक बडजात्याले नेपाललाई रोजेका हुन् । चलचित्रको छायांकन स्थल हेर्न उनी दुईपटक नेपाल आएका थिए । यो चलचित्रमा अमिताभ बच्चनको पनि अभिनय रहनेछ । तर, उनी भने नेपाल आउने छैनन् । स्वास्थ्य अवस्थाका कारण उनलाई परिवारले चिसो ठाउँमा पठाउन नमानेपछि उनीबाहेकको टिम नेपाल आएको हो ।

चलचित्रलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतका क्षेत्रमा छायांकन गरिनेछ । मित्रताको कथामा निर्माण हुन लागेको चलचित्रको ४०-४५ दिनसम्म नेपालमा छायांकन हुनेछ । नानी गुप्ताको पनि मुख्य भूमिका रहने यस चलचित्रको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनी हेरेको छ । मंगलवार चलचित्रको छायांकन काठमाडौंमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu