यशको बहुप्रतिक्षित फिल्म ‘टक्सिक’ को रिलिज पुनः अनिश्चित, दर्शक निराश



मुम्बई – ‘केजीएफ’ स्टार यशको बहुप्रतिक्षित चलचित्र ‘टक्सिक : अ फेरी टेल फर ग्रोन-अप्स’ को प्रदर्शन मिति पुनः अनिश्चित बनेको छ। फिल्मका सह-निर्मातासमेत रहेका अभिनेता यशले सामाजिक सञ्जालमार्फत आगामी ४ जुनमा तय भएको रिलिज स्थगित गरिएको जानकारी दिएका हुन्। यसपटक नयाँ प्रदर्शन मितिबारे कुनै जानकारी नदिइँदा व्यग्र प्रतीक्षामा रहेका फ्यानहरू निराश भएका छन्।

चलचित्रको सम्पूर्ण छायांकन सकिए पनि यसलाई विश्वव्यापी रूपमा अझ भव्य ढंगले प्रस्तुत गर्ने निर्माण पक्षको तयारी छ। यशले एक वक्तव्य जारी गर्दै ‘टक्सिक’लाई आफ्नो सिनेमाप्रतिको प्रेम सम्झाउने विशेष यात्राको संज्ञा दिएका छन्। सिनेमाकनमा प्राप्त उत्कृष्ट प्रतिक्रियाले फिल्मलाई विश्वभर यसको पूर्ण क्षमतामा पुर्‍याउन आफूहरूलाई थप प्रेरित गरेको उनले उल्लेख गरेका छन्।

झण्डै ७०० देखि ८०० करोड भारुको कीर्तिमानी बजेटमा निर्मित यो पिरियड ग्याङ्स्टर ड्रामालाई अहिलेसम्मकै महँगो भारतीय चलचित्र मानिएको छ। गीतु मोहनदास निर्देशित यस फिल्ममा यश दोहोरो भूमिकामा छन् भने कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी लगायतका चर्चित अनुहारहरूको अभिनय छ। यसअघि ‘धुरन्धर २’ सँगको बक्सअफिस भिडन्त र इरान-इजरायल तनावले खाडी बजार प्रभावित हुने भन्दै १९ मार्चको रिलिज सारेर ४ जुन पुर्‍याइएको थियो। तर, यसपटक बिना कुनै स्पष्ट कारण रिलिज मिति धकेलिँदा फिल्मको प्रदर्शनलाई लिएर अन्योल सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu