
काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा बलिउडका प्रख्यात निर्देशक, निर्माता तथा कलाकार रमेश सिप्पीले विशेष अतिथिका रूपमा सहभागिता जनाउने भएका छन्। कालजयी भारतीय चलचित्र ‘शोले’का निर्देशकसमेत रहेका सिप्पी आगामी चैत १९ गतेबाट सुरु हुने निफको उद्घाटन समारोहमा उपस्थित हुन काठमाडौं आउने पक्का भएको हो।
महोत्सवका अध्यक्ष केपी पाठकले दिएको जानकारीअनुसार, काठमाडौं बसाइका क्रममा सिप्पीले आफ्नो लामो र सफल फिल्मी यात्रा, अनुभव तथा भारतीय चलचित्रको विकास क्रमबारे नेपाली चलचित्रकर्मी र दर्शकहरूसँग अन्तरक्रिया गर्नेछन्। दिग्गज व्यक्तित्व सिप्पीको अनुभव र ज्ञानबाट नेपाली चलचित्र निर्माताहरूले बलिउड बजार र फिल्म मेकिङका विषयमा महत्त्वपूर्ण जानकारी हासिल गर्न सक्ने अपेक्षासहित उनलाई निफमा आमन्त्रण गरिएको अध्यक्ष पाठकले बताए। यस भ्रमणले नेपाल र भारतका चलचित्रकर्मीबीचको आपसी सम्बन्ध विस्तारमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ।
बलिउड चलचित्र उद्योगमा एउटा छुट्टै इतिहास कोर्न सफल सिप्पीले एक दर्जनभन्दा बढी चलचित्रको निर्देशन गरिसकेका छन् भने दर्जनौं चलचित्रमा निर्माता र केहीमा कलाकारकै रूपमा समेत आफ्नो छाप छोडेका छन्। उनको निर्देशनमा बनेको ‘शोले’ बलिउडकै इतिहासमा एक अविस्मरणीय कोशेढुंगा मानिन्छ। पछिल्लो पटक उनले सन् २०२० मा ‘सिम्ला मिर्ची’ चलचित्रको निर्देशन गरेका थिए। आफ्नो स्वर्णिम करियरमा उनले अमिताभ बच्चन, धर्मेन्द्र, राजेश खन्ना, दिलीप कुमार, शशी कपुर, ऋषि कपुर, शाहरुख खान, सञ्जय दत्त, ज्याकी श्राफ र मिथुन चक्रवर्ती जस्ता बलिउडका शीर्ष स्टारहरूलाई आफ्नो निर्देशनमा अभिनय गराइसकेका छन्।
आगामी चैत १९ गतेदेखि काठमाडौंमा सुरु हुने यस प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवमा विश्वका ४० देशबाट छनोट गरिएका ८८ वटा उत्कृष्ट चलचित्रहरूको प्रदर्शन गरिनेछ। चलचित्र प्रदर्शनका अतिरिक्त, चलचित्र निर्माण र यससँग सम्बन्धित विविध आयामहरूमा केन्द्रित रहेर १० वटा फरक-फरक विषयमा अन्तरक्रियात्मक कार्यक्रमहरू समेत सञ्चालन गरिने आयोजकले जनाएको छ।


