पशुपतिनाथको दर्शक गर्न पाउँदा भाग्यमानी ठानेको छु : अनुपम खेर



निर्देशक सूरज बडजात्याको नयाँ चलचित्र ‘उचाइँ’ को छायांकनका लागि आइतवार विहान काठमाडौं ओर्लिएका बलिउडका महान कलाकार अनुपम खेरले मंगलवार विहान पशुपतिनाथमा पूजा गरेका छन् । पूजा गरेर फर्किने क्रममा पशुपतिनाथ परिसरमा एक भिडियो बनाउँदै उनले हिन्दूको धर्मस्थानमा आएर पूजाआजा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘मैले आफूलाई भाग्यमानी ठानेको छु कि आज काठमाडौंमा रहेको चर्चित पशुपतिनाथमा दर्शन गर्ने सौभाग्य पाएँ । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । हिन्दूको धर्मस्थानमा आएर पूजा गर्न पाउँदा मलाई एकदमै खुसी महशुस भएको छ । हजारौं वर्ष पहिले यस्ता मन्दिरहरुको स्थापना भएको थियो, जहाँ आउन पाउँदा मनलाई शान्ति मिल्छ ।’

उनी यसअघि २०७१ सालमा कोसेली स्कुलमा अध्ययनरत सुकुम्बासी र मजदुरका सन्तानलाई सहयोग जुटाउन आयोजित च्यारिटी शोमा सहभागी हुन नेपाल आएका थिए । ‘उचाइँ’ को छायांकनका लागि अनुपम खेर ४० दिनसम्म नेपालमा बस्नेछन् । आइतवार उनीसहित निर्देशक सूरज बडजात्या, कलाकारहरु बोमन इरानी, परिणिती चोपडा, सारिका हसन काठमाडौं आइपुगेका हुन् ।

यो चलचित्रमा अमिताभ बच्चनको पनि मुख्य भूमिका छ । तर, उनी भने नेपाल आएका छैनन् । स्वास्थ्य अवस्थाका कारण उनलाई परिवारले चिसो ठाउँमा पठाउन नमानेपछि उनीबाहेकको टिम नेपाल आएको हो । चलचित्रलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ क्षेत्रमा खिचिनेछ । ‘उचाइँ’ को अधिकांश छायांकन हिमाली क्षेत्रमा गर्नुपर्ने भएकाले निर्देशक बडजात्याले नेपाललाई रोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu