नेपाली वृत्तचित्रले विश्वव्यापी सञ्जाल र पहिचान कायम गरेका छन्: लव प्याकुरेल



काठमाडौँ।
लव प्याकुरेल नेपालका शीर्ष वृत्तचित्र सम्पादकमध्ये एक हुन् । दर्जनौं अवार्ड र पुरस्कार जितेका उनले सय बढी डकुमेन्ट्री फिल्महरु, टेलिभिजन कार्यक्रम, सिरियल, केहि भिडियो तथा लघु चलचित्रहरु सम्पादन, अवधारणा र निर्देशन गरेका छन् ।

‘प्रायश्चित’, ‘सपना’, ‘आशाको दियो’, ‘वर्गसत्ता’ र ‘समय घडी’, ‘झिल्को’, ‘पञ्चायतको घाउ’, ‘सगरमाथाको प्रतिबिम्ब’, ‘निलो आकाश’, ‘शेर्पाः सगरमाथाका वास्तविक नायकहरू’, ‘बिर्सिइएका महिलाहरु’, ‘निजामती: अण्डर फायर’, ‘मकैको बिहे’, ‘सुपर मंक’, ‘राउटे: अन्तिम घुमन्ते जाती’, ‘एपिक सेन्टर: ब्ल्याकआउट’, ‘धुलोको मुल्य’, ‘बथानको पछाडी’, ‘अटूट आशाहरू’ आदि उनका सम्झनयोग्य फिल्महरुमा पर्दछन् ।

लव प्याकुरेल

श्रव्य दृश्य सिर्जनाको सार, कलात्मक ज्ञान र कथाको मूल्य र भावनालाई जोड्ने क्षमता सम्पादकमा हुनुपर्ने विचार बोकेका प्याकुरेल भन्छन्, ‘सम्पादकहरू उत्कृष्ट नतिजा दिनका लागि केन्द्रित र समर्पित हुनुपर्छ, तब विषयको केन्द्रबिन्दु पहिचान गर्न सहज हुन्छ ।’

०००

वि.सं. २०५२ सालमा प्याकुरेल ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा उच्चशिक्षा अध्ययनरत थिए । चलचित्र ‘युगदेखी युगसम्म’ हेरेका लाखौं दर्शकमध्ये उनी एक थिए । एक दिन ठमेलको एउटा कार्यालयमा आफ्नै आँखा अगाडी उनै चर्चित अभिनेता राजेश हमाल देखिए । सुरुमा प्याकुरेल आफ्नै अगाडी हमाललाई देखेर तीनछक परे । ‘सबैभन्दा चर्चित अभिनेतालाई आँखै अगाडि देखेँ’ प्याकुरेल भन्छन्, ‘उत्तेलित भएर राजेश हमालसँग अटोग्राफ मागेँ ।’

सरस्वती कलेज नजिकै टीम नेपाल नामको फिल्म कम्पनी थियो । त्यो अफिसमा चर्चित कलाकारहरु बारम्बार आउने-जाने गर्थे । त्यो बेला शिवशंकर कोइराला निर्देशित टेलिफिल्म ‘खण्डहरको फूल’ निर्माण भइरहेको थियो । ‘त्यो मेगा टेलिसिरियलको प्रोडक्सन कन्ट्रोलर थानेश्वर बस्याल मेरो एकदमै मिल्ने साथी थिए । उनले मलाई निर्देशकसँग परिचय गराए’, प्याकुरेलले सम्झे, ‘मेरो भाग्य भन्नुपर्छ, राजेश हमालसँगै धीरेन शाक्य, करिश्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मा, सुभद्रा अधिकारीलगायत कलाकारसँग कामको सुरुवात गर्न पाएँ ।’ उनले ‘खण्डहरको फूल’ मा सहायक निर्देशकको रुपमा काम गरेका छन् ।

अन्य भाषाको तुलनामा विश्वको सबैभन्दा पुरानो भाषा ‘संस्कृत’ झनै कठिन र संवेदनशील छ । २०६५ सालताका टेलिफिल्म ‘गुरु दक्षिणा’ संस्कृत भाषामा बनिरहेको थियो । निर्देशक घनश्याम खतिवडा थिए । छायांकन सुरु हुन एक साता मात्र बाँकी थियो । निर्देशकले भने, ‘लव यो स्क्रिप्ट लिनुस् ।’

‘गुरु दक्षिणा’ नाटकमा प्राविधिक सल्लाहकारका रुपमा कार्यरत प्याकुरेललाई संस्कृत भाषाको ज्ञान थिएन । यो टेलिफिल्ममा बासुदेव कोइराला, प्रभात आचार्य, देवीराम पराजुली जस्ता कलाकारहरुले अभिनय गर्नेवाला थिए । उनीहरु सबै दरबारमार्गस्थित तीनधारा पाठशालामा बस्थे र बाल्मिकी कलेज (संस्कृत कलेज) मा पढ्थे । ‘सात दिनसम्म संस्कृत पढेका साथीहरूसँग बसेँ र नेपाली भाषामा लिपि अनुवाद गरें,’ प्याकुरेल भन्छन्, ‘त्यसपछि मलाई संस्कृत भाषा पनि राम्रो लाग्यो ।’ पछि नेपाल टेलिभिजन (एनटिभी) ले निर्माण गरेको संस्कृत भाषाको टेलिफिल्म ‘राग-बिरागम’ मा काम गर्दा भाषागत रुपमा आफुलाई धेरै फाइदा भएको प्याकुरेल बताउँछन् ।

प्याकुरेल पाठशाला भित्रका गतिविधि सम्झेर आजपनि हाँस्छन् । ब्राह्मणहरू इमानदार, शाकाहारी र समर्पित हुन्छन् भन्ने उनको विचार थियो । छात्रावासभित्र विहानको अनुष्ठान गर्न अनिवार्य थियो, मांसाहारी खाना निषेध थियो, घिउ भात अनुमति थियो तर रक्सी र धुम्रपान पूर्णरूपमा निषेध गरिएको थियो । तर, भित्री परिवेश भने अर्कै थियो । दुई समूहबीच दिनहुँ झडप हुने गर्थ्यो । एक रक्सी समूह र एक भाङ् समूह । ‘म शितेरियो करातेको ब्ल्याक बेल्ट समेत भएकोले जब झगडा हुन्थ्यो मलाई कराते सिकाउन अनुरोध गर्थे उनिहरु’, लवले ती दिनहरु सम्झे ।

प्याकुरेल फिल्म निर्देशक बन्न चाहन्थे । कथामा आधारित चलचित्र (कथानक चलचित्र) मा नायक र नायिकालाई अभिनय गराउने उनको सपना थियो ।

त्यतिबेला कथा फिल्मसँगै भिडियो फिल्मको पनि उत्तिकै क्रेज थियो । उनले प्रायश्चित, आशाको दियो, सपना जस्ता भिडियो फिल्म बनाए । यसैबीच उनले डकुमेन्ट्रीमा काम गर्ने अवसर पाए ।

वि.सं. २०५४/५५ मा उनी फिक्शन डकुमेन्ट्री फिल्म ‘झिल्को’ को सम्पादक र निर्देशक भए । उनले काम गरेको पहिलो डकुमेन्ट्री फिल्म ‘झिल्को’ राजनीतिक विषयसँग सम्बन्धित छ । त्यसपछि उनले डकुमेन्ट्री फिल्ममा काम गर्न रुचाए ।

टेप टु टेप सम्पादन गरेका प्याकुरेल ननलिनियर सम्पादन प्रणाली रुचाउँछन् । दक्ष प्राविधिकका लागि विकासशील प्रविधि वरदान जस्तै भएको उनको भनाइ छ । पूरा लगनशील भएर काम गर्न सकिने भएकाले वृत्तचित्र बनाउँदा रमाइलो हुने, गहिरो अनुसन्धान हुने, विषयवस्तु र अवलोकनका आधारमा प्रस्तुति शैली प्रयोग गर्न सकिने भएकाले सम्पादनका लागि ठूलो कार्यस्थल हुने उनको विश्वास छ ।

उनी भन्छन्, ‘मेरो पहिलो डकुमेन्ट्री फिल्म युद्धसँग सम्बन्धित थियो । माओवादीले सुरु गरेको सशस्त्र युद्धसँग सम्बन्धित केही जानकार व्यक्तिहरूको तर्कको विरुद्धमा केही प्रगतिशील व्यक्तिहरूले बचाउ गरिरहेका थिए । वास्तवमा, ती गतिविधिहरू के हुन् ? के यसबाट लोकतन्त्र बलियो हुन्छ ? तल्लोतहका जनताको हक र न्यायको ग्यारेन्टी कसरी हुन्छ ? वृत्तचित्रले लोकतन्त्र, मानवअधिकार, कानूनको शासन र अभिव्यक्ति स्वतन्त्रतालाई समर्थन गर्ने विचारहरूमा वैचारिक परिप्रेक्ष्य प्रस्तुत गर्दछ ।’

वृत्तचित्र गहिरो खोज, अनुसन्धान र विश्लेषणको विषय हो । सम्पादनको समयमा यस विषयमा पटकपटक छलफल र विश्लेषण हुन्थ्यो । त्यसयता वृत्तचित्रबाट निकै प्रभावित भएको प्याकुरेल बताउँछन् ।

०००

‘शेर्पाः सगरमाथाका वास्तविक नायकहरू’, ‘हिमालयमा हेलिकप्टर उद्दारकर्ताहरू’ जस्ता वृत्तचित्रहरू विश्वका चर्चित वृत्तचित्र हुन् । डकुमेन्ट्री फिल्म निर्माण गर्ने फिल्म निर्मातामध्ये उत्कृष्ट निर्देशक हरि थापाले राउटेको जीवनीमा आधारित वृत्तचित्र मानवशास्त्र र समाजशास्त्रको दृष्टिकोणबाट सम्पादन गर्न आग्रह गरे ।

‘म सम्पादक हुँ तर मानवशास्त्र र समाजशास्त्र भनेको कसरी बुझ्ने?’

यो डकुमेन्ट्री बनाउन उनी काठमाडौंको प्रदर्शनी मार्गमा रहेको पुस्तक पसलमा गए । उनले मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित किताब किने । उनले त्यस पुस्तकको मुख्य थेसिस, परिभाषा, क्षेत्र, शाखाका बारेमा छ महिना अध्ययन गरे । प्याकुरेल भन्छन्, ‘विषय बुझेपछि डकुमेन्ट्री फिल्मको सम्पादन गर्न थालेँ ।’

प्याकुरेलले विषयवस्तु, पात्र र प्रस्तुति नयाँ देखिएकाले विशेष केही गर्न सकिने महसुस गरे । नयाँ विचार र शैलीहरूसँग काम गर्ने अवसर सम्पादकको लागि महत्त्वपूर्ण हो । ‘राउटेः अन्तिम घुमन्ते जाती’ डकुमेन्ट्री फिल्म प्याकुरेलले सम्पादन गरेका हुन् । डकुमेन्ट्री छिट्टै दर्शकका लागि रिलिज हुँदैछ ।

०००

प्याकुरेलले धेरै चलचित्रकर्मीहरू पछाडीको बाटोमा हिँडेको भेटेका छन् । उनको बुझाईमा सामान्यतया, धेरै फिल्म निर्माताहरू जोखिम मोल्न इच्छुक हुँदैनन् ।

‘परम्परागत चलचित्रकर्मीले प्रस्तुतिलाई निकै कठिन बनाउने, परम्परागत विधि र तरिका छनोट गर्ने, विषयलाई गोप्य राख्ने र छायाँकार, सम्पादक र निर्देशकबीच दृश्यात्मक भाव अलग बनाउने कारणले चलचित्रको गुणस्तर बढ्न सकेको छैन’, उनि भन्छन्, ‘विषयवस्तुको कुरा गर्दा, सिर्जनाकारहरू कथा उत्कृष्ट सुनाउँछन्, तर परिणामको कुरा गर्दा उल्टो सत्य हुन्छ । यसले व्यावसायिकतालाई असर गरेको छ । यो नेपाली चलचित्र उद्योगको समस्या हो । चलचित्रकर्मीले भिजुअल छायांकन गर्दा समय नदिने तर उत्कृष्ट नतिजाको खोजीमा रहेको प्रणालीका कारण नतिजा अभिमुखीकरणमा समस्या भएको छ ।’

सिनेम्याटोग्राफीमा मात्र होइन, यहाँ धेरै निर्देशकहरू पनि छन् जसले प्रस्तुतीकरण सीपहरू फेला पार्न सजिलो तरिकाहरू खोजिरहेका हुन्छन् । कमेन्ट्रीसँग सम्बन्धित वृत्तचित्रहरू नेपाली चलचित्रकर्मीहरूको मुख्य परिचय बनेको छ । कथानक, शब्द वा कमेन्ट्रीभन्दा अलग तरिकाबाट वृत्तचित्र बनाउने निर्देशकहरू थोरै छन् । उनी भन्छन्, ‘निर्देशक मात्र होइन, सम्पादक पनि विषयवस्तुको जीवनलाई पछ्याएर सत्यतामा केन्द्रित हुन सदैव सचेत हुनुपर्छ ।’

एक पटक वृत्तचित्रको छायांकनका लागि उनी टोलीसँग तराईको गाउँ गएका थिए । विषय अत्यन्त गरिबी भएको एक समुदायको थियो । उक्त वृत्तचित्र ‘मरेका जनावरहरूको मासु (सिनो) खाने’ सामाजिक सँस्कृतिको बारेमा थियो । सुटिङ सुरु भएको एक साता भइसकेको थियो र त्यो खबर पनि फैलिसकेको थियो । केही उच्च जातिय मानिसले यो खबर सुने र यसलार्इ मन पराएनन् ।

उनी बताउँछन्, ‘हामी बिषय खोज्नमा केन्द्रित थियौं । चमार समुदायका एक व्यक्तिले कुहिएको बाख्राको मासु फेला पारे । त्यसबेला यो संस्कृतिको विरुद्धमा रहेका समूहहरूले अवरोध खडा गरे । दुई समुहबीच झगडा भयो र एक्कासी उच्च जातका केही गाउँले त्यहाँ आए र विरुद्धमा रहेका चमार समुदायका व्यक्तिलाई कुटपिट गर्न थाले । अवस्था निकै कठिन बन्दै गएको थियो । छायाँकार क्यामेरा लिएर भागे र निर्देशक पनि एकाएक हराए । मेरो हातमा ह्यान्डीक्यामेरा मात्र थियो । मैले उनीहरुलाई बेवास्ता गर्दै सो घटनाको सुटिङ गरेँ ।’ पछि तीनै दृश्यहरु नै वृत्तचित्रको मुख्य विषयवस्तु बनेका थिए । केहि समयपछि सरकारले यो संस्कृतिको समर्थन गर्नेलाई कारबाही गरेको र सो परम्पराको अन्त्य गरेको घोषणा गरेको जानकारी पाएको प्याकुरेलले बताए ।

०००

करिब तीन दशकअघिसम्म हामीले वृत्तचित्रको बारेमा खासै सुन्ने गरेका थिएनौं । विरलै बन्ने उत्पादन प्रक्रिया धेरै गाह्रो थियो । सरकारी लगानीबाट मात्रै वृत्तचित्र बन्ने भएकाले व्यक्तिगत लगानीबाट बनेका वृत्तचित्रलाई जोखिमपूर्ण लगानी मानिन्थ्यो । वृत्तचित्र हेर्ने दर्शक पनि थिएनन्, देखाउने ठाउँ पनि थिएनन् ।

त्यसताका पनि काल्पनिक चलचित्रहरू भने लोकप्रिय हुन्थे । चलचित्रलाई शहरी दर्शकहरूले मनोरञ्जनको माध्यमका रूपमा लिने गर्थे भने शहर बाहिरका मानिसले युवाहरूलाई बिगार्ने औजारका रूपमा चित्रित गर्थे । प्याकुरेल सम्झिन्छन्, ‘त्यतिबेला नुवाकोटको बट्टारस्थित हलमा ‘सम्झना’ फिल्म रिलिज भएको थियो, म फिल्म हेर्न तीन घण्टा पैदल हिँडेको थिएँ । मेरो परिवारलाई यसको बारेमा थाहा भएपछि बुवाआमा चिन्तित हुनुभयो । उहाँहरुलाई म गलत बाटोमा हिँडेको भान परेको रहेछ ।’

अहिले समय परिवर्तन भएको छ । चलचित्रप्रतिको दृष्टकोण बदलिएको छ । चलचित्रलाई मनोरंजन मात्र नभएर शिक्षा, इतिहास, सुचना र सन्देशको सजिलो माध्यम मान्न थालिएको छ ।

लव भन्छन्, ‘सरकारले डकुमेन्ट्री फिल्मलाई पनि मनोरञ्जन क्षेत्र नभई रचनात्मक सांस्कृतिक उद्योगका रूपमा मान्यता दिएको छ । प्रविधिमा पनि ठूलो सुधार भएको छ । दक्ष जनशक्ति उपलब्ध छ । रचनात्मकतालाई सम्मान गर्ने संस्कृतिमा सुधार भएको छ । श्रम र सिर्जनाको उचित मूल्याङ्कन र भुक्तानी गरिएको छ । व्यावसायिक पक्ष पनि सुधारोन्मुख छ । सीप, सिर्जना र ज्ञानमा सुधार भएको छ । नेपाली डकुमेन्ट्री फिल्म विश्वभर लोकप्रिय भएको छ । यसको नेटवर्क र पहिचान समेत स्थापित भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu