‘रनवे ३४’मा पाइलटलाई गलत तरिकाले देखाइएको भन्दै भारतीय पाइलट महासंघको आपत्ति



शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड सुपरस्टार अजय देवगन अभिनीत, निर्मित तथा निर्देशित चलचित्र ‘रनवे ३४’मा पाइलटहरूलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतीय पाइलट महासंघले आपत्ति जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै चलचित्र सत्य घटनामा आधारित भए पनि पूरै कपोलकल्पित ढंगले प्रस्तुत गरिएको जनाएको छ ।

चलचित्रमा अजय देवगनले एक सन्काहा पाइलटको भूमिका निर्वाह गरेका छन् । चलचित्रको निर्माण पक्षले सन् २०१५ मा दोहाबाट कोचिसम्म उडान भरेको विमानलाई क्र्यास ल्यान्डिङ घटनाको सत्य कहानी बताउँदै आएको छ । मौसम खराब र कम भिजिबिलिटी कारण विमानलाई आकस्मिक अवतरण गरिएको कथा चलचित्रमा छ ।

महासंघले चलचित्रमा देखाइएको घटना सत्यबाट धेरै टाढा रहेको बताएको छ । महासंघका सचिव क्याप्टेन सिएस रान्धावाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रनवे ३४ को निन्दा गर्दछौं । चलचित्रमा पाइलट पेशालाई जुन तरिकाले देखाइएको छ यो सत्यबाट कोशौं टाढा छ। जुन ढंगले चलचित्रमा देखाइएको छ त्यसले विमानमा यात्रा गर्ने यात्रुको मनमा भ्रामक सन्देश पैदा गर्न सक्छ ।’

चलचित्रमा अजयसँगै अमिताभ बच्चन, रकुल पीत सिंह, बोमन इरानी, अंगिरा धर, आकांक्षा सिंहको पनि अभिनय छ । चलचित्रलाई समीक्षकले सकारात्मक प्रतिक्रिया दिएका छन् । तर, चलचित्रले बक्सअफिसमा भने गतिलो प्रदर्शन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu