म्यूजिक भिडियोमा सुरक्षा र निराजनको एक्शन अवतार, एक्शनमा उदाइन सुरक्षा (भिडियो)



काठमाडौं। सम्भवतः नेपालमा पहिलो पटक एक्सन जनरामा म्यूजिक भिडियो निर्माण भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘गन्तव्य’ बोलको गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त एक्सन अवतारमा प्रस्तुत छिन् । यो म्यूजिक भिडियोबाट उनले आफूलाई एक्सनमा राम्रो सम्भावना देखाएकी छन् । उनले एक्सनमा गरेको मेहेनत भिडियोमा देख्न सकिन्छ ।

आरके खत्रीको आवाजमा रहेको गीतमा सूर्य अधिकारीको र्‍याप छ भने मेलोडी म्यूजिक गायक खत्रीले नै दिएका छन् । त्यस्तै, गीतमा गायक द्वय खत्री र अधिकारीको शब्द रचना छ । म्यूजिकलाई ठाउँ-ठाउँमा ब्रेक गर्दै भिडियोमा एक्सनलाई प्राथमिकताका साथ स्थान दिइएको छ । भिडियोमा सुरक्षाको अपोजिटमा निराजन प्रधानले अभिनय गरेका छन् । पैसाका लागि गलत काममा होमिएका उनीहरुबीचको प्रेम र पैसाका लागि निराजनले सुरक्षामाथि गर्ने गलत व्यवहारको कथा भिडियोमा देखाइएको छ ।

चलचित्रका निर्देशक समेत रहेका हरी हुमागाईंले भिडियोको निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट पनि उनी स्वयंको हो । शंकर महर्जनले द्वन्द्व निर्देशन गरेको भिडियोमा प्रविन श्रेष्ठको कलर, राजेश शाहको भिएफएक्स र दीपु पौडेलको मेकअप छ । उत्तम हुमागाईं र राजेन्द्र हुमागाईंले छायांकन गरेको भिडियोलाई देवन प्रोडक्सनले निर्माण गरेको हो ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री पन्तले नेपाली समाजमा देखिरहेकै घटनालाई भिडियोमा उतारिएको बताइन् । उनले भनिन्, ‘जीरो टोलरेन्सको आइडियामा भिडियो बनाएका हौं । एक्सनमा भिडियो बनाउने निर्देशक हरी हुमागाईंको आइडिया मन पर्‍यो अनि मैले पनि केही सिक्न पाउछु भन्ने लोभले काम गरेको हुँ ।’ उनले निराजनसँग लामो समयपछि काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

पहिलो पटक एक्सन जनराको म्यूजिक भिडियोमा काम गरेका निराजनले ‘गन्तव्य’ गीतको भिडियोले नेपाली समाजको अहिलेको अवस्था बोलेको बताए । भिडियोले महिलालाई मजबुत बन्न थप हिम्मत दिने उनको विश्वास छ । प्रधानले चलचित्र नै बन्ने कथामा भिडियो बनेको बताउंदै निकट भबिष्यमा चलचित्रको सोच रहेको बताए ।

गायक खत्रीले भिडियोले गीतलाई न्याय गरेकोमा खुशी व्यक्त गरे । अन्याय र अत्याचारको विरुद्धमा महिलाहरु बलियो भएर अगाडि बढ्नु पर्छ भन्ने सन्देश भिडियोले दिने उनले बताए ।

त्यस्तै, निर्देशक हुमागाईंले म्यूजिक भिडियोमा एक्सन सिक्वेन्स राख्न चुनौतीपूर्ण भए पनि आफूहरुले इमानदार प्रयास गरिएको बताए । सुरक्षाले तीन दिन एक्सन तालिम लिएर भिडियोमा एक्सन सिन दिएको उनको भनाई छ । एकै शैलीका म्यूजिक भिडियो बनिरहेको अवस्थामा केही पृथक गर्ने सोचले भिडियोलाई एक्सन शैलीमा तयार पारिएको उनी बताउँछन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu