बिरामी शहरलाई निको पार्छुः अनुप बराल



anup-baral-interview

[dropcap]थि[/dropcap]एटरको कलाकार तथा निर्देशकको रुपमा आफुलाई खरो साबित गरिसकेका छन् अनुप बरालले। बिशेसत छोटो तर गहन भुमिकामा चलचित्रमा समेत अभिनय गर्दै आएका बराल धेरै चलचित्रमा ‘कास्ट डाईरेक्टर’को रुपमा काम गरेका छन्। कैयन चलचित्र अनुपसँग शिक्षा नलिई फ्लोरमा पुगेका छैनन्। आफुलाई पृष्ठभुमिमा दह्रो ठहर्यााउँदै उनै बराल हाल पुरै चलचित्रको निर्देशक बनिसकेका छन्। चैत सात गते रिलिज हुने नेपाली चलचित्र ‘फिटकिरी’लाई उनले निर्देशन गरेका छन्। यो चलचित्रलाई नै उनले निर्देशनमा डेब्यू मानेका छन्। यसै चलचित्रबारे ठुलोपर्दा डटकमका जीवन पराजुलीले केहि जिज्ञासा राखेका छन्:

१. वास्तवमा फिटकिरीले के महत्व राख्छ ?
फिटकिरी एउटा ‘इन्भेष्टिगेटिभ थ्रिलर ड्रामा’ हो। यसले शहरमा हुने आपराधिक गतिविधी र समकालिन समयको केहि विसंगत पक्षलाई रेखांकन गर्दछ। यो चलचित्रमा सिधा सन्देश होईन अनुभुती भित्र पस्ने कुरा छन्। त्यसैले हाम्रो लागि सन्देश भन्दा पनि दर्शकले चलचित्र हेरिसकेपछि जुन अनुभव र अनुभुती लिएर फर्किन्छन् त्यसले महत्व राख्छ।

२. निर्माताको लगानीलाई कसरी सुरक्षित गर्नुहुन्छ ?
बजारलाई सुरक्षित गर्ने संभावना भन्ने कुरा चलचित्रमा काम गर्ने टिम, त्यसको सर्वसाधारणसँग बनेको परिचय, विश्वशनियता र मार्केटिङ्ग आदिले केहि हदसम्म निर्धारित गर्दछ। यस हिसाबले फिटकिरीको टिम एउटा दह्रो टिम हो। त्यसपछि ‘माउथ पब्लिसिटी’ नै हो, जसले यो चलचित्रको लगानी सुरक्षित गर्न महत्वपूर्ण भुमिका खेल्छ।

अहिले चलचित्र रिलिजको तयारी हुञ्जेलसम्म पनि यो चलचित्रको राईट्स् लिन धेरै देशका वितरकले रुचि देखाई सक्नुभएको छ भने अष्ट्रेलिया, जापान, हङ्गकङ्ग, फिनल्याण्ड आदि मुलुकहरुमा फिटकिरी बेचिईसकेको छ। सिडी/डिभिडी बाँकी नै छ। चलचित्र बनाउँदा खर्च भएको आधाभन्दा बढि लगानी त त्यहिँबाट उठ्छ। यसलाई काठमाण्डौमा पपकर्न मुभिजका साथीहरु र काठमाण्डौ बाहिर नरेन्द्र महर्जन र उहाँको संस्थालाई वितरण जिम्मा दिईएको छ। मार्केटिङ्ग रणनिती पनि राम्रै छ। बाँकी आधा लगानी त हलमा लाग्दा-लाग्दै पनि उठ्ला भन्ने अनुमान हो। माउथ पब्लिसीटी पनि राम्रै हुँदैछ भन्ने बिश्वास छ।

३. चलचित्रको नाम ‘फिटकिरी’ राख्नुका पछाडी के-के कारणहरु छन् ?
फिटकिरीले औषधीको काम गर्छ। बिशेष गरेर घाउ, खटिरा आदिलाई सञ्चो पार्नको लागि बढि उपयोग हुन्छ। चलचित्र फिटकिरीमा अपराध कथासँग जोडिएका कथाहरु छन् जसले शहर बिमार भएको छ। र यो बिरामी शहरलाई ठिक पार्न एउटा एंटीसेप्टिक चाहिएको छ। फिटकिरी त्यहि एंटीसेप्टिकको बिम्ब हो।

४. निर्माताद्वयसँग तपाईँको चिनजान कति पुरानो हो ?
निर्माता अर्जुन कुमारसँग मेरो चिनजान भएको डेढ बर्ष भयो। सुमित जी सँग पनि एक बर्ष पुरानो भेट हो। अर्जुन कुमारले एउटा चलचित्र बनाउन खोज्नु भएको रहेछ र त्यो फिल्ममा मलाई कलाकारको रुपमा अनुबन्धित गर्ने उहाँको सोच रहेछ। त्यस क्रममा हाम्रो भेट भयो। तर, जुन चलचित्र गर्ने कुरा थियो त्यो अलि पछि हुने भयो। त्यसपछि फिटकिरीको कुरा अगाडी बढेको हो।

यस चलचित्रमा पनि अर्जुन जी ले मुख्य कलाकारकै रुपमा मलाई अफर गर्नु भयो। त्यसको निर्देशकको जिम्मा पनि दिनुभो। तर मलाई अभिनय गर्ने र निर्देशन पनि गर्दा चलचित्रलाई ठिक ढंगबाट प्रस्तुत गर्न सक्दिन की बन्ने लाग्यो र निर्देशकको भुमिकामा मात्र सम्बन्धित हुन चाहेँ।

५. तपाईँ थिएटरको कलाकार/निर्देशक, आर्ट मा विश्वास राख्नुहुन्छ। तर, फिटकिरीले कमर्सियल अर्थ राख्छ। यो तालमेल कसरी सम्भव छ ?
मेरो लागि आर्ट र कमर्सियल भन्ने कुराले त्यति अर्थ राख्दैन जति राम्रो चलचित्र भन्नेले राख्छ। संसारमा कि राम्रा चलचित्र हुन्छन् जसलाई हेर्दा तपाईँ भित्रै देखि झन्झनाउनुहुन्छ, संवेदनाको स्तरमा छुन्छ र संसारमा नराम्रा चलचित्र हुन्छन् जसलाई तपाईँ आफ्नो पैसा र समयको बर्बादी सम्झनुहुन्छ। म राम्रो चलचित्रमा बिश्वास गर्छु। त्यसैले आर्ट र कमर्सियल भन्ने कुराले मेरो जीवनमा खासै अर्थ राख्दैनन्। म राम्रो र असल चलचित्र बनाउन चाहन्छु र फिटकिरी त्यहि सोचको एउटा कडि हो।

६. रिलिज मिति आईसक्यो, कस्तो लाग्दैछ ?
रिलिजको मिति नजिकिँदै गर्दा दर्शकहरुको प्रतिक्रिया कस्तो रहला, निर्देशकको रुपमा मलाई कसरी हेर्लान दर्शकले भन्ने जिज्ञासा बढेको छ म भित्र। जुन दिन चलचित्र बनाउन जुन आँटमा बिश्वासका साथ सुरु गरेको थिएँ अझै पनि मसँगै छ। तर, चलचित्रको अन्तिम सत्य दर्शकको बीचमा पुगेर मात्र पाउन पूर्ण हुन्छ। म दर्शककै बीचमा बसेर यो चलचित्र प्रतिको प्रतिक्रिया हेर्न र बुझ्न चाहन्छु। म खुशी छु किनकी सक्षम कलाकार, प्राविधिक तथा सम्पूर्ण टिमले निकै मेहनतका साथ आफ्नो जिम्मेवारी पुरा गर्नुभएको छ र आज मैले गर्व गर्न लायक चलचित्र बन्न पुगेको छ।

७. के आफुलाई कमर्सियल निर्देशकको रुपमा चिनाउनु चाहनुहुन्छ ?
आर्ट नभईकिन व्याबसायिक चलचित्र बनाउन सकिदैन। मलाई खुशी लाग्छ अब आउने नयाँ पुस्ताले यो कुरालाई ध्यान दिनेछन्। हामीले व्याबसायिक चलचित्र बानउन सिक्नु पर्योे। कमर्सियल चलचित्रको नाममा कति अव्याबसायिक चलचित्र बनिरहेका छन्। म पनि आँफै सिकारु छु तर इच्छा चाहिँ व्याबसायिक चलचित्र नै बनाउँछु भन्ने हो।

८. फिटकिरीबाट दर्शकले के पाउने ?
फिटकिरीमा एउटा त्यस्तो कथा भन्ने कोशिस गरिएको छ जुन सायद अहिले सम्म भईरहेको थिएन होला। यो मेरो दावा होइन बिश्वास हो। यो कथा दर्शकलाई राम्रो लाग्न पनि सक्छ र नराम्रो पनि तर यसमा हामीले आफ्नो समयको केहि झलक र अनुभवलाई सिनेम्याटिक भाषामा रुपान्तरण गर्ने कोशिस गरेका छौँ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu