कृष्ण जन्माष्टमीको दिन पारेर यो हप्ताका लागि शुक्रवारबाट तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ चलचित्र एकसाथ प्रदर्शनमा आएका हुन् । अघिल्लो हप्ताका दुई ठूला बलिउड चलचित्र ‘लाल सिंह चढ्ढा’ र ‘रक्षा बन्धन’ टाँट पल्टिएपछि यी तीन चलचित्रलाई राहत मिलेको छ । तर, एकसाथ तीन चलचित्र प्रदर्शन भएकाले दर्शक बाँडिने पक्का छ ।
तीनवटै चलचित्रबाट चलचित्र क्षेत्रले ठूलो आशा गरेको छ । किनभने, ‘कबड्डी ४’पछि कुनै नेपाली चलचित्रले दर्शक तान्न सकेका छैनन् । जसले गर्दा चलचित्र क्षेत्रमा एकखालको नैराश्यता पैदा भएको छ । तीनवटै चलचित्रमा नाम चलेका कलाकारहरुको अभिनय रहेकाले हलमा देखिएको शून्यतालाई तोड्न सक्ने विश्वास चलचित्रकर्मीहरुमा छ । तर, भिडन्तको असर तीनै चलचित्रलाई पर्नेमा दुईमत छैन ।

दीपक वलीको निर्देशनमा तयार भएको ‘कृष्ण लीला’मा पुष्प खड्का र श्रद्धा क्षेत्री प्रमुख भूमिकामा छन् भने बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय छ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन् । चलचित्रले अटिजम रोगबाट पीडित युवकको प्रेम जीवनमा आउने उतार-चढावको कथा भन्छ ।
रञ्जित रौनियारको निर्देशन रहेको ‘माइकल अधिकारी’मा सौगात मल्ल, सृष्टि श्रेष्ठ, अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल, केभिन परियारलगायतको अभिनय छ । उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको चलचित्रले सेरोगेसीको कथा भनेको छ ।
त्यस्तै, परिक्षेद सेन निर्देशित चलचित्र ‘प्रेमगन्ज’मा तेज गिरी, बेनिशा हमाल, राइडर प्रशन, सुप्रिया खनाल, सिमरन खड्का, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराईलगायतको छ । चलचित्रले दुई कालखण्डको प्रेमकथा वाचन गरेको छ । प्रिमियरमा चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेको थियो । राजु फुयाँल प्रस्तुतकर्ता रहेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।