‘प्रेमगीत ३’को चारवटा हिन्दी गीतहरु सार्वजनिक



आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’को चारवटा हिन्दी गीतहरु रिलिज भएका छन् । सोमवार निर्माण टिमले भारतको प्रतिष्ठित कम्पनी जी म्यूजिकको यूट्युब च्यानलबाट चारवटा हिन्दी भर्सनका गीतहरु सार्वजनिक गरेको हो । गीतमा भारतका विश्व प्रख्यात गायक-गायिकाहरुले स्वर दिएका छन् ।

‘कोई न कोई नाता हैं’ बोलको पहिलो हिन्दी गीतमा भारतका पार्श्व गायक जुबिन नौटियालको स्वर छ । पवनदीप राजनको कम्पोज रहेको गीतमा सुभाष कालेको शब्द रचना छ । जुबिनको आवाजले मन्त्रमुग्ध बनाउँछ । दोस्रो गीत ‘जहान भी जाओ आई सनम’मा पार्श्व गायक राहत फतेह अली खानको स्वर सुन्न सकिन्छ । देव राजको कम्पोज रहेको गीतमा हरि शंकर सूफीको शब्द रचना छ ।

तेस्रो गीत ‘तुम प्यार हो’मा पलक मुच्छल र अंकित तिवारीको युगल स्वर रहेको छ भने असलम कीको कम्पोज र कुमारको शब्द रचना छ । त्यस्तै, चौंथो रोमान्टिक गीत ‘मुझ में बस जाना’मा पलक मुच्छल र देव नेगीको युगल स्वर छ । गीतमा कल्याण सिंहको कम्पोज छ भने ए एम तुराजको शब्द रचना छ । फिल्मको चारवटै गीत रोमान्टिक थिममा तयार छन् । गीतको अडियो पक्ष बुलन्द छ ।

भारतमा हिन्दी डबमा प्रदर्शनमा आउने चलचित्र नेपालमा भने नेपाली भर्सनमा नै लाग्नेछ । तर, नेपालमा प्रदर्शनको केही हप्तापछि चलचित्रको हिन्दी डब पनि प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । चलचित्रको हिन्दी र नेपाली भर्सनमा दुईवटा टिजर रिलिज भइसकेको छ । तर, चलचित्रको टिजर हिन्दीमा बढी रुचाइएको छ । चलचित्रको टिजर भारतीय दर्शकले पनि रुचाएका छन् ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिना गुरुङले नायिकाको रुपमा डेब्यू गरेकी छन् । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu