बलिउड चलचित्र ‘उचाइँ’को ट्रेलरमा नेपालको हिमालका दृश्य



२०७८ सालमा नेपाल छायांकन गरिएको भारतीय चलचित्र ‘उचाइँ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार निर्माण कम्पनी राजश्रीको यूट्युब च्यानलबाट सार्वजनिक भएको २ मिनेट ५१ सेकेन्ड लम्बाईको ट्रेलरले चार साथीको मित्रताको कथा बोलेको छ । अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर र बोमन इरानीको मित्रताको वरिपरि चलचित्र घुमेको ट्रेलरबाट प्रस्ट्याइएको छ ।

आफ्नो जन्मदिनमा डेनीले संसारकै अग्लो शिखर सगरमाथा घुम्न जाने प्रस्ताव साथीहरुलाई राख्छन् । तर, पाको उमेरका कारण साथीहरु सगरमाथा जान तयार हुँदैनन् । तर, अचानक डेनीको निधन भएपछि उनको अधुरो सपना साकार गर्न अमिताभ, अनुपम खेर र बोमन सगरमाथा यात्रामा निस्कन्छन् । सगरमाथा यात्राको क्रममा आउने आरोह-अवरोहलाई नै ट्रेलरमा देखाइएको छ ।

ट्रेलरमा नेपालका सेताम्मे हिमालसँगै सगरमाथालाई पनि लोभलाग्दो रुपमा देखाइएको छ । यसले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सघाउ पुग्न सक्ने देखिन्छ । कात्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको ‘उचाइँ’लाई सूरज बडजात्याले निर्देशन गरेका हुन् । बलिउडको नामी प्रोडक्सन कम्पनी राजश्रीको ब्यानरमा निर्माण भएको चलचित्रले नेपालमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।

चलचित्रमा नेपाली कलाकारहरु परमिता राज्यलक्ष्मी राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको पनि अभिनय छ । ट्रेलरमा नेपाली कलाकारहरुलाई भने देखाइएको छैन । चलचित्रमा परमिताले बलिउड अभिनेत्री नानी गुप्ताको डमी पात्र निर्वाह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu