अभिनेता दिनेश शर्मा ठगी केशमा – कान्तिपुरबाट



dinesh-sharma-thagi
शर्माद्वारा ठगिएका पीडितहरू वैदेशिक रोजगार विभागमा । तस्बिरः प्रकाश तिमिल्सेना/कान्तिपुर

नक्कली कलाकार बनाएर बेल्जियम लैजाने आश्वासन देखाएर अभिनेता दिनेश शर्मासहित ३ जनाले ४० जनाभन्दा बढीलाई ठगी गरेको खुलेको छ ।

पीडितले भिसा र कलाकार संघको नक्कली परिचयपत्र बनादिने शर्मासहित मिठु श्रेष्ठ र प्रकाश अर्यालविरुद्ध करिब ४ करोड रुपैयाँ ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा बुधबार उजुरी गरेका छन् । उजुरी गर्नेमा जेएन घिमिरे, कृष्णकुमारी कँडेल, प्रतिभा सुवेदी, शोभा राई, उषा थापासहित ८ जना छन् ।

निवेदनमा ४० भन्दा बढी मानिसबाट करिब ४ करोडको ठगी गरिएको उल्लेख छ । उजुरीमा पार्सपोर्टमा लगाएको भिसाको छाप, पैसा बुझाएको हस्तलिखित भर्पाई, चेकको प्रतिलिपि, कलाकार संघको नक्कली कार्ड बनाएको प्रमाण पेस गरिएको छ ।

विभागका अनुसन्धान अधिकृत बाबुराम पाण्डेले व्यक्ति ठगीको केस भएकाले आवश्यक छानबिन गरिने बताए । ‘प्रमाणका रूपमा भिसा र कलाकार परिचयपत्रको फोटोकपी मात्र पेस गरिएको छ,’ उनले भने, ‘भोलि सक्कली भिसा र परिचयपत्र पेस हुन्छ । त्यसपछि छानबिन गर्छौं ।’

पीडित पक्षको भनाइअनुसार अर्याल बेल्जियममा छन् भने शर्मा सम्पर्क बाहिर छन् । मिठुलाई तिनकुने प्रहरीले तारिकमा छाडेको छ । भैरहवाका शर्मा, स्याङ्जाका अर्याल र शान्तिनगरकी श्रेष्ठको समूहले कलाकार बनाई सांस्कृतिक कार्यक्रममा बेल्जियम लैजाने भन्दै ठगेका हुन् ।

फिल्म निर्मातासमेत रहेका घिमिरेले शर्मा आफ्नो मिल्ने साथीसमेत भएको बताए । बुटवल घर भएका उनले पीएचडी गर्न बेल्जियमको भिसा लगाइदिन्छु भनेपछि शर्मालाई ८ लाख रुपैयाँ बुझाएको बताए । घिमिरेले शर्माको रोहबरमा २०६८ माघ १९ गते कागज गराई ४ लाख रुपैयाँ दिएको प्रमाण पनि देखाए ।

शर्माले चाहिँ ठगी गरेको अस्वीकार गरे । ‘मलाई यसबारे कुनै जानकारी छैन,’ उनले दाबी गरे ।

घिमिरेले दिनेश सम्पर्कमा आउन छाडेपछि र नक्कली कलाकार संघको कार्ड बनाएको थाहा पाएपछि आफू ठगिएको पत्तो पाएको बताए । ‘साथी भनेर विश्वास गरें,’ उनले भने, ‘धोका पाएँ ।’ बेल्जियममा बस्दै आएका अर्यालले विदेश लाने प्रक्रिया मिलाउने भन्दै श्रेष्ठ र शर्माले रकम उठाएर ठगी गरेको पीडितहरूको आरोप छ ।

इलामकी ४२ वर्षीया कृष्णकुमारी कँडेलले श्रेष्ठलाई ५ लाख ७० हजार रुपैयाँ र शर्मालाई २ लाख ३० हजार रुपैयाँ दिएको बताइन् । उनले कलाकार संघको कार्ड बनाउन ५० हजार रुपैयाँसमेत दिएको बताइन् । रामेछापकी रीता कार्कीले ८ लाख रुपैयाँ दिएको बताइन् ।

सोलुखुम्बुकी शोभा राईले कल्चरल प्रोग्राममा बेल्जियम भिसा लगाउने भन्दै अर्यालले ४ लाख रुपैयाँ ठगी गरेको सुनाइन् । इलामकी प्रतिभा सुवेदीले ११ लाख रुपैयाँ र उनकी बहिनीले ६ लाख रुपैयाँ बुझाएको बताइन् ।

-श्रोतः कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu