घाईतेको उपचारको लागि प्रमोदले दिए सबै पारिश्रमिक



काठमाडौँ।
धनकुटाको कन्सर्टमा घाईतेहरुको उपचारको लागि गायक प्रमोद खरेलले उक्त कार्यक्रमको लागि आफुले प्राप्त गर्ने सबै पारिश्रमिक प्रदान गरेका छन् । पाँचौं धनकुटा महोत्सवमा गएराती करिब ८ बजे गायक खरेलले गीत गाईरहेको समयमा दर्शकको भिड एक्कासी बढेपछि नियन्त्रण बाहिर पुगि ठेलमठेलको अवस्था हुँदा ३० जना घाईते भएका थिए ।

आइतबार महोत्सव आयोजकले घटनाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा खरेलले उक्त सहयोग घोषणा गरेका हुन् । पत्रकार सम्मेलनपछि ठुलोपर्दा डटकमसँगको कुराकानीमा गायक खरेलले सबै पारिश्रमिक प्रदान गरेको बताए । “यो घटना नै नघट्नु पर्ने थियो । घटनाको वास्तविक कारण छानबिनपछि थाहा होला तर म सहभागी भएको कार्यक्रममा यस प्रकारको घटना हुँदा अत्यन्तै दुःखी छु”, उनले भने, “घाईते सबै मेरा फ्यानहरु हुनुहुन्छ । उहाँहरुको पीडा मेरो पनि पीडा हो र उहाँहरुको परिवारको पीडा पनि मेरै पीडा हो । घाईतेहरुका परिवारजनमा सहाभुती राख्दै मैले सकेको सहयोग गरेको हुँ ।” खरेलले पारिश्रमिक कति थियो भन्नेबारे भने खुलाउन चाहेनन् ।

खरेलले स्टेजको पछाडीबाट एम्बुलेन्सको आवाज सुन्दा निकै नरमाईलो लागेको बताए । आफुले सोमबार बिरामीलाई भेट्न जाने योजना बनाएको बताए ।

घाईते सबै धनकुटाका स्थानीय हुन् । उनिहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित गोल्डेन अस्पताल र धनकुटा अस्पतालमा उपचार भईरहेको छ । १२ जना भने सामान्य उपचारपछि घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu