‘पशुपति प्रसाद’को सिक्वेलमा स्वस्तिमा हुँदा खिन्न भईन् बर्षा



काठमाडौँ।
सुपरहिट नेपाली चलचित्र ‘पशुपति प्रसाद’ रिलिज भएको सात बर्ष पुरा भएको दिन निर्माता कम्पनी टुकी आर्टसले यसको सिक्वेल घोषणा गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘पशुपति प्रसाद २: भष्मे डन’ नाम रहने गरी सिक्वेल घोषणा गरिएको हो ।

पहिलो चलचित्रमा छोटो भूमिकामा रहेकी बर्षा सिवाकोटी सिक्वेलमा भने रहने छैनन् । सिक्वेलमा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्दैछिन् । पत्रकार सम्मेलनमा अभिनेत्री सिवाकोटीलाई ‘सिक्वेलमा नहुँदा कस्तो लागिरहेको छ?’ भन्ने पत्रकारहरुको प्रश्नमा उनले आफुलाई खिन्न लागेको जवाफ दिईन् । उनले भनिन्, “आफ्नो जोडी भष्मे डन नभएर पशुपति प्रसाद भएको हुँदा आफु नहुनु स्वभाविक हो तर म यो चलचित्रमा नहुँदा अलिकती खिन्न चाहिँ लागेको हो । तर अहिले भने त्यस्तो सोचेकी छैन ।”

तपाईंको भूमिका छोटो भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा अभिनेत्री स्वस्तिमा खड्काले अभिनयको लम्बाईले आफुलाई फरक नपर्ने बताईन् । “मलाई भूमिका कति लामो छ भन्ने कुराले खासै फरक पार्दैन तर त्यो क्यारेक्टर कस्तो छ र कत्तिको न्याय दिन सक्छु भन्ने कुरा महत्वपूर्ण हो । मैले कहिल्यै लामो छोटो भूमिकाले माने राख्दैन, यो चलचित्रमा पनि लम्बाईले फरक पार्दैन”, खड्काले बताईन् ।

निर्देशक दीपेन्द्र खनालले स्क्रिप्ट लक गर्न नसकेर सिक्वेल बनाउन लामो समय लागेको बताए । उनले भने, “स्क्रिप्ट पहिले आफुलाई मन पर्नुपर्‍यो । लामो समय लागेको लक गर्न नसकेरै हो ।” खनालले भष्मे डन सात बर्षपछि आउँदा केहि फरक भएर आउन सक्ने संकेत गरे । उले थपे, “भष्मे डन पशुपति प्रसादकै एक अंश भएको कारण हामीले अर्थपूर्ण बनाएका छौं ।”

लेखक तथा निर्माता खगेन्द्र लामिछानेले ‘पशुपति प्रसाद २: भष्मे डन’ नाम बारेमा प्रष्ट्याउँदै सिक्वेल बनाउँदा नाम पनि अर्थपूर्ण लागोस् भन्ने ध्येय रहेको बताए । उनले भने, “दर्शकलाई व्यावसायिक हिसाबले मात्र नाम राखिएको हो भन्ने नपरोस् भन्ने हिसाबले कथामा पनि मिलाएका छौँ ।”

यो चलचित्रमा बिपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाललगायतका कलाकारको अभिनय रहनेछ । पत्रकार सम्मेलनमा अभिनेता कार्की भने उपस्थित भएनन् । यो चलचित्र २०८० सालको वडा दशैंको फूलपातीमा चलचित्र रिलिज हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu