
काठमाडौँ।
‘नेपाली सिनेमा र पर्यटनलाई विश्वमाझ लैजाने’ मुख्य नारासहित चलचित्र विकास बोर्डले युएईको दुबईमा आयोजना गर्न लागेको ‘नेपाल सिनेमा फेस्ट–२०२३’को तालिका सार्वजनिक भएको छ । बिहीबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै बोर्डले यहि माघ २९ गतेदेखि फागुन ३ सम्म हुन लागेको कार्यक्रमको प्रमुख उद्देश्य नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण र विदेशी बजार विस्तार गर्नु रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
चलचित्र संग्रहालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंको हस्ताक्षरमा जारी विज्ञप्तीमा सूर्य कर्पोरेसन प्रालिलाई व्यवस्थापकीय जिम्मेवारी मात्र दिईएको र हवाई टिकट खर्च, भिसा शुल्क, होटल बसोबास खर्च, कार्यक्रम हलमा हुने खर्चहरु बोर्डले सोझै सम्बद्ध निकायलाई भुक्तानी दिने उल्लेख गरिएको छ । कर्पोरेसनलाई पैसा दिएको आरोप खेपेको बोर्डले आर्थिक मामलामा कर्पोरेसनको कुनै हात नरहने स्पष्ट पारेको हो ।
विज्ञप्तीमा भनिएको छ, “कार्यक्रमलाई सफल तुल्याउने व्यवस्थापकीय जिम्मा सूर्य कर्पोरेसन प्रालिले लिएको छ । यो कार्यक्रम आयोजना गर्न बोर्डले सूर्य कर्पोरेसनसँग सहकार्य गरेको नभई उसलाई व्यवस्थापकीय जिम्मेवारी मात्र प्रदान गरेको स्पष्ट पार्न चाहन्छौं । यसका लागि बोर्ड र कर्पोरेसनबीच एमओयू सम्झौतामा हस्ताक्षर समेत भैसकेको छ । कर्पोरेसनले प्रस्तुत खर्च बाहेकका अन्य व्यवस्थापकीय जिम्मेवारी लिनेछ ।”
यो कार्यक्रम सम्पन्न गर्न बोर्डले त्यहाँस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, अन्य संस्थाहरु तथा व्यक्तिगतरुपमा पनि समन्वय र सहजीकरण गर्ने पनि विज्ञप्तीमा जनाईएको छ ।
उक्त फेस्टमा प्रदर्शन हुने दुई नेपाली चलचित्रहरु ‘ऐना झ्यालको पुतली’ र ‘कबड्डी ४’लाई छनोट गरिनुको कारण खुलाउँदै भनिएको छ, “यसवर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको र बुसान फेस्टिभलमा आधिकारिक छनोट भएको कारण नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’लाई प्रदर्शन गर्न लागिएको हो । त्यस्तै, नेपाली चलचित्रको बक्स अफिस इतिहासमा सर्वाधिक ग्रस कलेक्सन गरेको फिल्म भएको कारण ‘कबड्डी ४’ प्रदर्शन हुन लागेको हो । प्रदर्शन हुने यी चलचित्रलाई युएईस्थित कूटनीतिज्ञ, व्यवसायी, नेपाली समुदाय तथा फिल्ममेकरले हेरेर छलफल चलाउनेछन् ।”
बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार माघ २९ गते दुबईमा पत्रकार सम्मेलन हुनेछ । साथै सोही दिन ‘कबड्डी ४’को प्रदर्शनी र त्यसपछि निर्माता, निर्देशक र दर्शकबीच अन्तरक्रिया चलाइने छ । फागुन १ गते सहभागीहरुले दुबईमा रहेका छायाङ्कन गन्तव्यहरुको अध्ययन अवलोकन भ्रमण गर्नेछन् । सोही दिन फेस्टको मुख्य कार्यक्रम आयोजना हुनेछ । साथै साँस्कृतिक सांगीतिक प्रस्तुति दिने कार्यक्रम पनि तय गरिएको छ ।
फागुन २ गते नेपाली चलचित्रको बजार विस्तार र अहिलेको वर्तमान अवस्थाको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम हुनेछ । सोही दिन फिल्म सिटी टूरसहित भेटघाट र छलफल कार्यक्रम पनि हुनेछ । फागुन ३ मा दुबईस्थित स्वदेशी तथा विदेशी चलचित्रकर्मी, लगानीकर्ता, व्यवसायी, गैरआवासीय नेपाली, नेपाली संघसंस्थाका प्रतिनिधिहरुबीच नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन सम्बन्धी बृहत् अन्तरक्रिया हुनेछ । सोही दिनमा बोर्डले तयार पारेको गण्डकी प्रदेशको पर्यटन क्षेत्र र छायाङ्कन गन्तव्य सम्बन्धी श्रव्यदृश्य प्रचारसामग्री प्रदर्शन गरिनेछ । श्रव्यदृश्य सहित अन्य प्रचार सामाग्री पनि वितरण हुनेछ । जसले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनस्थलको रुपमा परिचित गराउन मद्दत गर्ने विश्वास लिइएको छ । सोही दिनमा अरबी भाषामा सबटाइटल गरिएको नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’को प्रदर्शनी र त्यसपछि फिल्ममाथि छलफल समेत हुनेछ ।
विज्ञप्तीमा यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल टेलिभिजन र नेपाल वायुसेवा निगम लिमिटेडले सहयोग गर्ने बताईएको छ ।



